न्यूयोर्क शहरका मेयर एडम्स भन्छन्, ‘कोरोना बढे पनि स्कूल खुल्ला रहन्छन्’
अमेरिका । न्यूयोर्क शहरका मेयर एरिक एडम्सले ओमिक्रोनका केसहरू बढ्दै गएको भए पनि तत्काल स्कूलहरू खुला रहने बताएका छन् ।
ब्रोन्क्सको कन्कोर्स प्राथमिक विद्यालयको भ्रमण पछि सोमवार मेयर एडम्सले बच्चाहरुका लागि अहिले विद्यालय भवन नै सबै भन्दा सुरक्षित भएको दावी गरे ।
‘हामी हाम्रा विद्यालयहरू खोल्ने बारे साँच्चै उत्साहित छौं, र हामी एकदमै स्पष्ट हुन चाहन्छौं: हाम्रा बच्चाहरूको लागि सबैभन्दा सुरक्षित स्थान विद्यालय भवनमा छ।’
मेयरले शहरका बालबालिका अपराध र अनिश्चितताको वातावरणमा परेका भन्दै त्यसले आमाबाबुलाई पनि आघात पुर्याएको बताए । उनले स्कूल बन्द हुदा गरीब समुदायका अभिभावक र बालबालिकालाई अप्ठेरो हुने पनि दावी गरे ।
‘चायलकेयरमा बच्चा लैजान नसक्ने अभिभावक पनि छन् उनीहरुका लागि अप्ठेरो हुन्छ ।’ मेयर एडम्सले भने ।
विद्यालयले शहरका विद्यार्थीहरूलाई प्राथमिक खाना उपलब्ध गराउने तर्क पनि मेयर एडम्सको छ ।