सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पनि पक्राउ
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चाउचाउको कार्टुनबाट बरामद गरिएको ५० लाखबारे अनुसन्धानको क्रममा सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् ।सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आइतबार पक्राउ गरी काठमाडौँ ल्याउने क्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयरमार्फत शनिवार विराटनगरबाट काठमाडौँ पठाइएको सो रकम रिसिभ गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।प्रहरीका अनुसार पोखरेलको बयानका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको हो ।
करेन्ट चाउचाउको कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरू भेटिएको थियो । बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।










