ओम्रिकान भेरिएन्टबाट सतर्क रहन मन्त्रालयको आग्रह
काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्व तयारीमा रहन आग्रह गरेको हो ।कोभिड–१९ का केसहरू फेरि बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारिताका साथ कार्यान्वयन गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुने लगायतमा जोड दिनुहोला ।’यस्तै, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का केसहरूको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।











