छलफल पछि स्थायी समिति बैठक
काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी महाधिवेशन अन्तर्गतको बन्द सत्रमा विभिन्न समूहले आफ्नो सुझाव पेस गर्ने क्रम जारी छ ।काठमाडौँमा आइतबारदेखि जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत टिप्पणी नेताहरूले प्रस्तुत गरिरहेका छन् ।माओवादीमा प्रतिवेदनमाथिको छलफलका लागि २५ समूह बनाइएको थियो ।
बुधवार ११ वटा समूहले आफ्नो निष्कर्ष सुनाएका थिए भने बाँकीले बिहीबार सुझाव पेस गरिरहेका छन् ।लुम्बिनी प्रदेशको तर्फबाट समूह प्रमुख सुदर्शन बराल मगर, ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको तर्फबाट समूह प्रमुख कमरेड नन्दकुमार प्रसाईँ, गण्डकी प्रदेशको तर्फबाट समूह प्रमुख देवेन्द्र पराजुली, बागमती प्रदेशको तर्फबाट समूह प्रमुख इन्द्रबहादुर थिङले प्रस्तुति गरिसकेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामी, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिम्खडा, कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, सल्लाहकारहरूको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले बिहीबार प्रस्तुति दिएका छन् ।सबैको प्रस्तुतीकरण सकिए पछि बिहीबार नै स्थायी समिति बैठक बस्ने छ । केन्द्रीय सदस्यमा ककसलाई समावेश गराउने भन्नेबारे बैठकमा छलफल हुनेछ । प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र केन्द्रीय समिति चयनको प्रक्रिया सुरु हुनेछ ।













