माओवादी महाधिवेशन : न्यौपानेको फरक मत
काठमाडौँ /नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।
यस अघि राम कार्कीले पनि फरक मत राखेका थिए । न्यौपानेले महाधिवेशनमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रतिवेदन ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै १० बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेका हुन् । न्यौपानेले आफ्नो १० बुँदे फरक मत बन्द सत्रमा राख्ने बताएका छन् ।
उनले अध्यक्ष प्रचण्डको प्रतिवेदन चुनावदेखि चुनावसम्मको मात्र भएको टिप्पणी गर्दै यसले पार्टी पनि नबन्ने तथा समाजवाद पनि नआउने जिकिर गरेका छन् । ‘नेतामा इमानदारी भएमा सुधार हुने हो । समाजवाद आउने होइन ,’ न्यौपानेको टिप्पणी रह्यो । न्यौपानेले प्रचण्डको प्रतिवेदनले वाम बाटो नबोकेको पनि बताए ।
प्रचण्डको प्रतिवेदनमा कडा टिप्पणी गरेका उनले मार्क्सवादको रक्षा, सिर्जनात्मक प्रयोग र विकास गर्ने उद्देश्यबाट चिप्लिएको पनि टिप्पणी गरेका छन् । ’मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा प्रयोग र परिमार्जन भनिनु मार्क्सवाद बिस्तारै छोड्दै जाने दक्षिण पन्थ हो’, उनले आरोप लगाए ।
फरक मतमा न्यौपानेले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल र पशुपतिनाथका भारतीय भट्ट हटाउन नसकेको कुरा पनि गम्भीरतापूर्वक उठाएका छन् । न्यौपानेले वर्तमान राज्य सत्तालाई बनिबनाउ भएको आरोप लगाउँदै सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक नभएको बताए । उनले शान्ति प्रक्रियामा आए पछि काम गर्न नसकेको आरोप पनि लगाएका छन् ।
न्यौपानेले अध्यक्ष प्रचण्डमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीमा जस्तै ’बा’ प्रवृत्ति देखिएको आरोप लगाएका छन्।माओवादीले जितेका स्थानीय सरकारले पनि कहीँ पनि नमुना काम गर्न नसकेको उनले निचोड निकालेका छन् ।








