सन्दीप सफल हुनेमा दासानायकेको विश्वास

काठमाडौँ/ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायेकेले नवनियुक्त कप्तान सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । उनले सन्दीप कप्तानको नेतृत्वमा नेपालले सफलता पाउनेमा विश्वास समेत व्यक्त गरे ।
नेपाल क्रिकेट सङ्घले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेदेखि तीव्र विवाद उत्पन्न भएको छ । क्रिकेट खेलाडीहरूले क्यानको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । क्यानमाथि राजनीतिक दबाब पनि छ । तर, दासानायेकेले भने कप्तान परिवर्तनको निर्णयलाई स्वाभाविक मानेका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यो विषय क्रिकेट बोर्डकै भएको भन्दै आफूले हस्तक्षेप नगर्ने बताए । सन्दीप कप्तानका लागि योग्य रहेको टिप्पणी समेत उनले गरे । स्मरणीय छ कि सन्दीपलाई नेपालको राष्ट्रिय टिममा स्थापित गराउन मुख्य भूमिका दासानायकेले नै खेलेका थिए ।
पत्रकार सम्मेलनमा दासानायेकले सन्दीपको खुलेर प्रशंसा गरे । एसोसिएट राष्ट्रहरूमा सन्दीप जति ‘क्यालिबार’ भएको अर्को खेलाडी नरहेको उनको भनाइ थियो ।सन्दीपले अन्डर –१९ तथा फ्रेन्चाइज लिग इपीएलमा कप्तानी गरिसकेको उनले सम्झिए ।
दासानायकले भने, ‘सन्दीपले विभिन्न देशका लिगहरूमा उच्चस्तरको क्रिकेट खेलिरहेका छन् । संसारका उत्कृष्ट खेलाडीहरूसँग काँधमा काँध मिलाएर खेल्न सक्नु चानचुने कुरा होइन ।’