नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रीत हुन सार्वजनिक अपिल गरेका हुन् ।
माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी पनि उनले गराएका छन् । महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने प्रचण्डले जनाएका छन् ।
मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डले उल्लेख गरेका छन् ।