माओवादी केन्द्रको राष्ट्रीय सम्मेलन : प्रचण्डले कसरी लगाउलान पार

Getting your Trinity Audio player ready...
|
उजीर मगर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र)को आसन्न प्रथम राष्ट्रिय सम्मेलनको केही परिदृश्यलाई यतिखेर प्रचण्डले कसरी पार लगाउँछन् ? धेरैको चासो देखिन्छ । पार्टीको जनवर्गीय संगठन, मोर्चा र प्रदेशमा उत्पन्न परिस्थितिले प्रचण्ड सहज वातावरणमा देखिँदैनन् । प्रचण्ड निकट अर्थात् भावि उत्ताराधिकारी को बन्ने भनेर सधैँ चर्चामा देखिने बर्षमान पुन ‘अनन्त‘ र जनार्दन शर्मा ‘प्रभाकर‘ व्यवस्थापन सबै भन्दा उनलाई सकस बनेको छ ।
यही सकसलाई सहज पार लगाउन प्रचण्डले यतिखेर सम्मेलन विचार, नीति, कार्यदिशामा केन्द्रित हुनुपर्छ भनेर एकोहोरो भनिरहेका छन् । प्रचण्डको यो भनाईले के संकेत गर्छ भने अखिल (क्रान्तिकारी), प्रेस सेन्टरकै शैली अप्नाउने चलाखीपूर्ण विधि अप्नाउने ध्याउन्नमा छन् ।
एक साताअघि सम्मेलनमा भाग लिने गरी चीनमा उपचाररत अनन्त स्वदेश फर्कने भनेर समाचार प्रशार गरियो ।
यसको अर्थ थियो– ‘अनन्तबिना चुनाबै गरेर भए पनि पदाधिकारी, केन्द्रीय समितिको टुंगो लगाउनुपर्छ भन्ने जमात यतिखेर बलियो बनेको छ ।‘ अनन्त प्रचण्डको सल्लाह बामोजिम स्वदेश फर्किने वा नफर्किने भन्ने निर्धारण हुन्छ । यदि प्रचण्ड मात्रै सम्मेलनबाट निर्वाचित हुने अन्य पदाधिकारीहरु केन्द्रीय समितिले टुंगो लगाउने गरी सम्मेलन सक्ने । प्रतिनिधिबाट भोटिङ्ग नगराउने । केन्द्रीय समितिमा बहुमत हुने भएकाले सहजै आफू अनुकूल पदाधिकारी टुंग्याउने ।
सधैं मझधारमा रहेर ‘तर‘ मारिरहेका कृष्णबहादुर महराको यतिखेरको कदम पुनराबृत्त भएको छ । बाहिर प्रचार अनन्त र प्रभाकरबीच एकले अर्कोलाई स्वीकार्न नसक्ने गरी गरिएको छ । त्यही मौकामा महराले पुनः ‘तर‘ मार्ने चालबाजीमा देखिन्छन् ।
जसका लागि बादलको लेगेसी कसले बोक्ने भन्ने पक्षलाई समेत महराले उचालिरहेका छन् । देव गुरुङ वा पम्फा भुसाल बादलको लेगेसीमा लडिरहेका छन् । माओवादीभित्रको यि परिघट्ना हेर्दा यदि प्रतिस्पर्धा नै हुनुपर्छ भन्नेको समूह ठूलो भए ७२ घन्टाभित्र अनन्त नेपाल आउने छन् । प्रचण्डले जसोतसो अध्यक्ष बाहेक पदाधिकारी केन्द्रीय समितिले टुंग्याउने भन्नेमा बहुमत पुगे अनन्त पूर्ण स्वास्थ भएर फर्किने छन् ।
यही मेसोमा नारायणकाजी श्रेष्ठ समूहले भनिरहेको छ– ‘केहीपछि माओबादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनका महत्वपूर्ण पक्ष वैचारिकीलाई छायाँमा पार्दै बहस भने ‘पदु‘मा केन्द्रित भैरहेको छ । लाग्छ यो सम्मेलन वर्षमान पुन र जनार्दन शर्माको लागि मात्र हुँदैछ । मिडिया मनोविज्ञान र माओवादी आफ्नै पार्टी जीवन पनि त्यसैमा अल्झेको देखिन्छ। यो माओवादीको भावि संसदीय यात्रा र दीर्घ जीवनको लागि शुभ–संकेत हैन । खतर्नाक छ, निक्कै खतर्नाक छ ।‘
त्यससँगै पार्टीभित्रै र जिल्लावासीको प्रतिस्पर्धी जयपुरी घर्ती वरपर रहेकाको समेत सम्मेलनबाटै पदाधिकारी टुंग्याउनु पर्छ भन्ने मनोविज्ञानका कारण प्रचण्ड असहजमै छन् । यद्यपी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले अप्नाएको नीति प्रचण्डले लिन सक्छन् ।
गोदावरीमा ओलीले प्रतिवेदन शंकर पोखरेललाई वाचन गर्न दिएर प्रतिनिधिको नारी छाम्ने काम गरेका थिए । प्रचण्डले पनि प्रतिनिधिको नारी छाम्ने काम गर्नेछन् । जसले जे भने पनि माओवादीभित्रको गुट, सह–गुटका कारण अनन्तको स्वास्थ्यमा अल्झेको छ । अनन्तको स्वास्थ्य र जनार्दन फ्याक्टरको ७२ घन्टाभित्र छिनोफानो हुनेछ । यो सम्मेलनबाट त्यस्तो खारिएको विचार माओवादीले दिन्छ र मुलुकले निकास पाउँछ भनेर प्रतिक्षा गर्नु भ्रम मात्रै हो ।