फिप्ना अध्यक्षमा चेम्जोङ्ग र बिष्टको प्रतिस्पर्धा

Getting your Trinity Audio player ready...
|
न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को नयाँ नेतृत्वका लागि लोक चेम्जोङ्ग (लोक बहादुर लिम्बु) र राजकुमार बिष्ट बीच प्रतिस्पर्धा हुने भएको छ ।
फिप्ना निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावालीमा अध्यक्षका लागि यी दुई आमन्ने सामन्ने भएका हुन् ।
चेम्जोङ्गले लगातार दोस्रो कार्यकाल निरन्तरता दिन लागेका हुन् । बिष्ट अहिले सभामुख छन् । फिप्नाको आठौ महाधिवेशन तथा निर्वाचन डिसेम्वर १९ तारिकमा न्यूयोर्कमा हुदै छ ।
निर्वाचन समितका अनुसार बरिष्ठ उपाध्यक्षमा मिङमार शेर्पा र गोमा योञ्जनको उमेदवारी परेको छ । अन्य पदमा भने निर्विरोध भएको छ । महिला उपाध्यक्षमा छोन्जोम लामा निर्विरोध भएकी छिन् । यस्तै महासिचवमा टोमा लामा निर्विरोध भएकी छन् ।
सन् २००५ मा स्थापना भएको फिप्ना साधरण सभामा ९६ जनालाई मताधिकार छ । १८ वटा संस्थाबाट दुई महिला सहित पाँच प्रतिनिधि, च्याप्टरमा एक महिला सहित तीन प्रतिनिधि, पूर्व अध्यक्ष र कार्यसमिति सदस्यलाई मताधिकार रहन्छ ।
फिप्नाको एजेण्डा नयाँ ढंङ्गले अगाडि बढाउन आफुले अध्यक्ष पदमा निरन्तरता चाएको चेम्जोङ्गले बताए । ‘अमेरिकाको सन्दर्भमा पहिचान र नेपालमा पनि जनजाति आन्दोलन टुङ्गोमा नपुगेको हुदाँ मैले दोहोरिन खोजेको हु ।’ चेम्जोङ्गले आफ्नो योजना एक कार्यकालमा पुरा गर्न गाह्रो भएको दावी गरे । फिप्नाको विधानमा दुई बर्षे कार्यकालको व्यवस्था छ ।
‘जसको विचार उसैको नेतृत्व भन्ने छ,हामीले नयाँ बैचारिक लाइन शुरु गरेका छौ त्यो पुरा गर्न फेरि मेरो आवश्यकता छ’ चेम्जोङ्गले भने ।
यस्तै अर्का उमेदवार बिष्टले सस्थालाई नयाँ उचाइमा लैजान साथीहरुको आग्रहमा आफुले दावेदारी पेश गरेको बताए । ‘फिप्नाले उद्देश्य अनुरुप गति लिएन भन्ने साथीहरुको गुनासो छ, त्यही भएर मलाई उहाँहरुले अगाडि बढाउनु भएको हो।’
बिष्टले यस अगाडि सातौं महाधिवेशनमा आफुले सहमतिका लागि अन्तिम अवस्थामा उमेदवारी फिर्ला लिएर चेम्जोङ्गलाई निर्विरोध बनाएको स्मरण गर्दै यस पटक सहमति पालाना नभएको दावी गरे ।