नथिंग इज इम्पोसिवल

कृष्णराज खनाल
असंभव भन्ने शव्द मूर्खहरूको शव्दकोशमा मात्र हुन्छ-नेपोलियन वोनापार्ट । वोनापार्टको यो भनाइलाइ साँच्चै पुष्टि गरेका छन् नेपाली युवा पर्वतारोही निर्मल (निम्स) पुर्जाले ।

पुर्जाको साहसको डकुमेन्ट्री हो -१४ पिक्स नथिंग इम्पोसिवल । यो हप्ता नेटफ्लिक्सको उच्च १० मा पर्न सफल एक घन्टा ४१ मिनेट लामो यो डकुमेन्ट्रीले ३८ वर्षीय निर्मलको मात्र होइन, नेपाल र नेपालीको शान र मानको उच्च प्रवर्धन पनि गरेको छ ।
नेपालको हिमाललाई यथाशक्य र यहाँको जनजीवन तथा संस्कारलाई थोरै भए पनि चिनाएको छ यो डकुमेन्ट्रीले । निर्मलले करिब डेढ वर्ष अगाडि छ महिना, छ दिनमा संसारका ८, हजार भन्दा अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।
यी हिमाल आरोहणका क्रममा उनले पाएका र भोगेका कष्टको वयान गरिसाध्य छैन । यो डकुमेन्ट्रीले निर्मलको साहस, त्याग र दृढ इच्छाशक्तिको समायोजन पनि देखाएको छ । उनको साहसको अगाडि चिनिया सरकार पनि झुकेको छ भन्ने कुरा हिमाली पदयात्राका लागि करिब सात वर्षदेखि बन्द राखिएको सिसापांगमा हिमाल चढ्ने स्वीकृति पाएबाट पनि पुनर्पुष्टि हुन्छ ।
उनले यसका लागि बेलेको पापड नेपालका गिनेचुनेका राजनीतिज्ञहरूलाई गरेको भनसुनले पनि काम गरेको छ र अन्ततः उनले यो हिमाल पनि पराक्रमपूर्वक चढे। हिमपहिरोको सामना, चौरीका वथान, साथीभाइहरू सँगको रंगरस, टीकाको प्रचलन, आमाबाबुलाई ढोग्ने संस्कार आदिले पनि यो डकुमेन्ट्री एक उम्दा लाग्छ ।
नयाँ पुस्ताका विदेशमा बस्ने नेपालीका यो एक एतिहासिक लाग्न सक्छ । यो डकुमेन्ट्री हेर्दा कतिपय अवस्थामा आंग जिरिंग हुन्छ । उनका प्रत्येक पाइला मृत्युसँग साक्षात्कार गरेका छन् र सानो गल्तीले उनको इहलीला समाप्त हुन्छ, तैपनि उनी यो कुरासँग डराउँदैनन् र लगातार लागिरहन्छन् ।
आमाछोराको वार्तालाप मार्मिक छ । उनी हिमाल आरोहणमा जाने क्रममा भन्छन् -आमा, म जान्छु, तपाइ पीर नलिनु है’ भन्दा भावुक हुँदै बिरामी आमा भन्छिन् -जा बाबु संसारमा नाम राख । आमाको यो वचन र आशीर्वाद मनमा लिएर हिँडेका पुर्जाले अन्ततः शिखर चुम्छन् र नेपाल र नेपालीको शिर ठाडो गराउँछन् ।
टार्किल जोन्स र गाव्रिएल क्लार्कले लेखेको यो डकुमेन्ट्रीका निर्देशक टार्किल जोन्स नै हुन् । सन् २०१९ को एउटा याममा सगरमाथाको शिरमा पाइला राख्नका लागि हिँडेका करिब तीन सय मानिसको हुलमा उनी पनि थिए । यो समाचारलाइ विश्वभरका प्रसिद्द पत्रपत्रिका र टेलिभिजन च्यानलले सिंगल फाइल अन दि रूफ अफ दि वर्ड, क्रेजी भनेर टिप्पणी गरेका थिए ।
उनले अन्नपूर्ण, धौलागिरी, कंचनजंघा, सगरमाथा, लोत्से, मकालु, नंगापर्वत, गासेरव्रम १ र २, के२ (चोगरल), व्रोडपिक (के३) मनास्लु, चोयु र सिसापांगमा गरी चौधवटा हिमाल आरोहण गरेर कीर्तिमान कायम गरे । अझ अचम्म त के भने उनले सगरमाथा, लोत्से र मकालुको त ४८ घण्टामा नै फत्ते गरेका थिए ।
मृत्युको द्वार भनेर चिनिने पाकिस्तानको नंगा पर्वतमा १०० फिट लडेर बाँचेका र पुन हिमाल आरोहणको लक्ष्य नत्यागेका निर्मललाइ हार्दिक नमन । व्रिटिश आर्मीमा रहेर पनि नेपालको शान, मान र इज्जत संसारभर फैलाएकोमा हार्दिक नमन । लेखकद्वय टार्किल जोन्स र गाव्रियल क्लार्कलाइ धन्यवाद ।
नर्थ क्यारोलिना