कांग्रेस १४ औं महाधिवेशन : जनसम्पर्क समिति अमेरिकाको सहभागिता न्यून, क्रियाशिल सदस्यको टुङ्गो अझै लागेन

Getting your Trinity Audio player ready...
|
अमेरिका । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाबाट सहभागिताको सम्भावना न्यून बन्न पुगेको छ । अब कुनै चमत्कारिक निर्णय नभएमा पार्टीको महाकुम्भ मेलामा अमेरिकामा रहेका नेपाली कांग्रेसका समर्थक मुकदर्शक मात्र बन्ने छन् । अमेरिकाबाट १४ जना महाधिवेशन प्रतिनिधिको कोटा छ ।
कांग्रेसको केन्द्रिय महाधिवेशनको प्रक्रिया शूरु हुन अब एक साता भन्दा कम समय छ । तर अहिले सम्म जनसम्पर्क समिति अमेरिकामा क्रियाशिल सदस्यता नै टुङ्गो लागेको छैन । दशै अगाडि नै क्रियाशिल फारम भराइ छानविन गरिएको भए पनि पार्टी केन्द्रिय कार्यलयबाट आज मंगलवार यो समाचार तयार पार्दा सम्म अमेरिकाको क्रियाशिल सदस्यता स्वीकृत दिएको छैन ।
निमय अनुसार क्रियाशिल सदस्यता स्वीकृत भए पछि अधिवेशन गर्दै नयाँ कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनु पर्ने हो । तर सदैव अस्तव्यस्त रहदै आएको जनसम्पर्क समिति अमेरिका पार्टी महाधिवेशन प्रतिनिधि नै चोरबाटोबाट छान्नु पर्ने अवस्थामा पुगेको छ ।
अमेरिकामा छानविन गरि पूर्णता दिइएको भनिएको क्रियाशिल फारम पार्टी कार्यलयमा लामो समय सम्म थन्कनुमा आर्थिक कारण बताइएको छ । क्रियाशिल फारम भराइएको तर समयमा सदस्यता शुल्क नबुझाउदा पनि प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका जनसम्पर्क समितिका सभापति आनन्द विष्टले महाधिवेशन प्रतिनिधिका विषयमा अझै पनि प्रयास भइरहेको दावी गरे । उनले आफ्नो जिम्मामा रहेको क्रियाशिल शुल्क पनि काठमाडौंमा रहेको पार्टीको बैक खातामा जम्मा गरेको दावी गरे । ‘हामीले नोभेम्वर २७ तारिकको बैठकको निर्णय अनुसार ३० तारिक सम्म पार्टीको खातामा सोझै सदस्यता शुल्क जम्मा गर्ने भनेका थियौ, डिसेम्वर १ तारिक विहान सम्म एक हजार भन्दा बढीले शुल्क बुझाउनु भएको छ ।’ समाज टाइम्स सँगको कुराकानीमा बिष्टले बताए ।
बिष्टका अनुसार अब बुधवार बेलुका सम्ममा जो जसले सदस्यता शुल्क बुझाउछन् त्यही अनुसार क्रियाशिल सदस्यता टुङ्गो लगाउने बताए ।’साथीहरुले पनि जिम्मा लिनु भएको छ, मैले मेरो जिम्मामा रहेका साथीहरु शुल्क बैक खातामा जम्मा गर्न लगाइ सके, अब आज एक दिन हेरौ त्यस पछि निर्णय हुन्छ ।’
बिष्टका अनुसार २३ सय जनाले अमेरिकाबाट कांग्रेस क्रियाशिल सदस्यताका लागि फारम भरेका छन् । अहिले सम्म पैसा बुझाए अनुसार ५ जना सम्म महाधिवेशन प्रतिनिधिले अमेरिकाबाट भाग लिन पाउने सम्भावना रहेको सभापति बिष्टको भनाइ छ ।
‘बुधवार साँझ सम्ममा पार्टीले केन्द्रिय प्रतिनिधि तोक्छ, त्यस पछि हामी कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्छौं ।’ बिष्टले भने । उनले अझै पनि सर्वसम्वत रुपमा कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गर्ने सम्भावना टरि नसकेको बताए । ‘सबै साथीहरुको मन मिल्यो भने नहुने भन्ने के छ र?’
‘म छोड्ने मान्छे हो मेरो केही दावी छैन, तर अरु साथीहरुमा एकले अर्कोलाई स्वीकार्ने वातावरण बनेको छैन, निर्वाचन प्रक्रिया अहिले सम्भव छैन् ।’
बिष्टले सहमति हुन नसके यस पटक अमेरिकाबाट महाधिवेशन प्रतिनिधिको सहभागिता नहुने पनि बताए । ‘अब निर्वाचन सम्भव छैन् साथीहरु सहमतिमा आए केही प्रतिनिधिले भाग लिन्छन ‘
सन् २०१४ मा टेक्सासमा सम्पन्न अधिवेशनले आनन्द विष्टलाई सभापति चुनेको थियो । जनसम्पर्क समितिको विधानमा एक कार्यकाल तीन बर्षको हुने व्यवस्था छ । समयमा जनसम्पर्क समितिको अधिवेशन गराउन नसकेको भनेर बिष्टले ‘असक्षम’ को आरोप खेप्दै आएका छन् । बिष्ट पार्टी सभापति शेरबहादुर देवाका निकट मानिन्छन् ।
कांग्रेसको केन्द्रिय महाधिवेशन मंसिर २४ गतेबाट शूरु हदै छ भने महाधिवेशन प्रतिनिधिको टुङ्गो मंसिर २१ गते अर्थात आउने मंगलवार सम्म लगाइ सक्नु पर्ने छ ।