फिफाले फुटबल विकासमा ६ अर्ब ३५ करोड डलर लगानी गर्ने प्रस्ताव अघि बढायो
ज्युरिख / विश्व फुटबल महासंघ (फिफा) ले विश्वभर फुटबलको विकासका लागि सन् २०२७ देखि २०३० सम्म ६ अर्ब ३५ करोड अमेरिकी डलर लगानी गर्ने प्रस्ताव अघि बढाएको छ।
फिफाका २११ सदस्य राष्ट्रका फुटबल संघ, महादेशीय महासंघ, क्षेत्रीय संघ तथा अन्य सरोकारवालालाई लक्षित गरी ल्याइएको यो प्रस्तावले आगामी चार वर्षमा फुटबल विकासका लागि उपलब्ध हुने रकम दोब्बरभन्दा बढी बनाउने लक्ष्य राखेको फिफाद्वारा बिहिवार जारी विज्ञप्तीमा उल्लेख छ।
स्विट्जरल्यान्डको ज्युरिखस्थित फिफाको मुख्यालयमा बसेको फिफा काउन्सिलको बैठकमा उक्त प्रस्तावमाथि छलफल भएको हो। सन् २०२६ को ४८ टोली सहभागी विश्वकपबाट प्राप्त असाधारण व्यावसायिक आम्दानीलाई आधार बनाएर फिफा प्रशासनले ‘फिफा सरप्लस सोलिडारिटी प्रोग्राम’ प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार प्रत्येक सदस्य राष्ट्रको फुटबल संघले अधिकतम २ करोड ५० लाख अमेरिकी डलरसम्म प्राप्त गर्न सक्नेछ। महिला तथा युवा फुटबल, दीर्घकालीन फुटबल परियोजना र खेल पूर्वाधार विकासलाई प्राथमिकता दिँदै रकम वितरण गर्ने योजना छ।
सन् २०२३ देखि २०२६ सम्मको चारवर्षे अवधिमा फिफाले ५ अर्ब २० करोडदेखि ५ अर्ब ६० करोड डलरसम्म बचत हुने अनुमान गरेको छ। यो अनुमान लेखापरीक्षणबाट अन्तिम रूपमा प्रमाणित भइसकेको छैन। प्रस्तावमा आकस्मिक परिस्थितिका लागि १ अर्ब ७० करोड डलर सञ्चित कोषमा राख्ने उल्लेख छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित रकमसहितको सम्पत्ति २११ सदस्य संघकै भएको उल्लेख गर्दै विश्वव्यापी फुटबल विकासमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार सन् २०१६ मा आफू अध्यक्ष बनेयता प्रत्येक सदस्य संघले पाउने रकम १० लाख डलरबाट बढेर २ करोड ५० लाख डलरसम्म पुगेको छ।
फिफा अध्यक्षद्वारा गल्तीप्रति माफी
बैठकमा फिफा अध्यक्ष इन्फान्टिनोले विवादमा परेको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) परियोजनाका सम्बन्धमा भएका गल्तीप्रति माफी मागेका छन्।
उनले उक्त परियोजना सञ्चालन र त्यसबारे जानकारी दिने प्रक्रियामा गल्ती भएको स्वीकार गर्दै प्रस्ताव स्थायी रूपमा फिर्ता लिइएको र कुनै पनि रूपमा पुनः अघि नबढाइने स्पष्ट पारे।
इन्फान्टिनोले परियोजनाको उद्देश्य फुटबलमा लगानी बढाउनु र रकमलाई प्रभावकारी रूपमा परिचालन गर्नु रहेको बताएका छन्। यद्यपि, परियोजनाको कानुनी पृष्ठभूमिबारे बाह्य कानुन व्यवसायीहरूले काउन्सिललाई जानकारी दिएका थिए।
अमेरिकामा जारी कानुनी प्रक्रियाका कारण यससम्बन्धी विस्तृत विवरण गोप्य राखिएको फिफाले जनाएको छ।
फिफाको सुशासन र अनुशासन प्रक्रियामा समीक्षा
बैठकले फिफाको सुशासन संरचनाबारे विस्तृत अध्ययन गर्न विभिन्न महादेशीय महासंघका प्रतिनिधि सहभागी कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, फिफाको फुटबल सामाजिक उत्तरदायित्व समितिलाई ‘फिफा पिस प्राइज’ को समीक्षा गर्न जिम्मेवारी दिइएको छ। यसबारे आगामी डिसेम्बर २०२६ मा बस्ने काउन्सिल बैठकमा निर्णय गरिनेछ।
अमेरिकाका खेलाडी फोलारिन बालोगुनलाई बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड देखाइएपछि लगाइएको एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गर्ने फिफाको स्वतन्त्र अनुशासन समितिको निर्णयपछि अनुशासनसम्बन्धी प्रक्रियाको पनि समीक्षा गरिने भएको छ।
फिफाको कानुनी समितिले यसबारे अध्ययन गरी डिसेम्बरमा हुने बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।
फिफा प्रशासनले प्रस्तावको योग्यता, आवेदन, स्वीकृति, रकम वितरण, नियन्त्रण तथा लेखापरीक्षणसम्बन्धी नियमलाई सम्बन्धित समितिमार्फत अन्तिम रूप दिनेछ। त्यसपछि डिसेम्बर २०२६ को काउन्सिल बैठकमा प्रस्ताव प्रस्तुत गरिने र मार्च २०२७ मा हुने ७७औँ फिफा कंग्रेसबाट स्वीकृतिका लागि अघि बढाइने जनाइएको छ।

















