अमेरिकाको टेक्सस निवासी नेत्रबन्धुले ल्याए मौलिक तीज गीत “नाच्ने आजै हो”
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको टेक्सस निवासी नेत्रबन्धु पोखरेलले नयाँ मौलिक तीज गीत “नाच्ने आजै हो” बजारमा ल्याएका छन्।
विगत दुई दशक देखि अमेरिका बस्दै आएका पोखरेल गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्व कोषाध्यक्ष हुन् ।
पोखरेलको शब्द र निर्माणमा तयार भएको यस गीतको हालै काठमाडौँमा औपचारिक विमोचन गरिएको छ।
पछिल्लो समय तीज गीतका नाममा विकृति र विसङ्गति बढेको व्यापक गुनासो भइरहेका बेला सर्जक पोखरेलको गीतमा परम्परागत भाका, संस्कृति र मौलिकता समेटिएको छ ।
डा. ध्रुवराज भट्टराईको सभापतित्वमा आयोजित विमोचन समारोहमा परम्परागत तीजका भाकाहरूको संरक्षण, यसको सांस्कृतिक महत्त्व र दाजुभाइ-दिदीबहिनी बीचको पवित्र सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्ने विषयमा व्यापक छलफल गरियो।
कार्यक्रमको प्रमुख अतिथिमा संस्कृतिविद् प्रो. डा. वीणा पौडेल, विशिष्ट अतिथिको रूपमा प्राज्ञ तथा वरिष्ठ समालोचक पुरुषोत्तम दाहाल लगायतले गीतको बारेमा चर्चा गरेका थिए ।
डा. विदुर वस्तिले सहजकर्ताको रूपमा उद्घोषण गरेको समारोहमा साहित्य, संस्कृति र सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
अतिथिहरूको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सहसचिव सन्ध्या पहारी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व केन्द्रीय सदस्य राधेश्याम लेकाली, अनेसास केन्द्रीय सदस्य, नेपाल च्याप्टर अध्यक्ष तथा चलचित्र निर्देशक राजेन्द्र केसी, र राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम लगायतले प्रवासमा रहेर पनि नेपाली कला-संस्कृतिको जगेर्नामा लागेको भन्दै सर्जक पोखरेलको सह्रानीय प्रयासको प्रशंसा गरे।
म्युजिक भिडियोमा ग्रामीण परिवेश र चेली-माइतीको खुसी
यस म्युजिक भिडियोलाई पूर्ण रूपमा मौलिकता दिइएको छ। भिडियोमा गाउँघरका सुन्दर दृश्यहरू, शिव मन्दिर र नेपाली परम्परागत रहनसहनलाई आकर्षक डङ्गमा देखाइएको छ। विशेष गरी तीज पर्वमा दिदीबहिनी लिन माइतीबाट भाइ आएको भावनात्मक प्रसङ्ग र चेली-माइती भेट हुँदाको साँचो खुसीलाई भिडियोको कथामा समेटिएको छ।
यस मौलिक भिडियोमा सर्जक तथा गीतकार नेत्रबन्धु पोखरेल आफैले पनि महत्त्वपूर्ण भूमिकामा उत्कृष्ट अभिनय गरेका छन्।

सुरज खनालको निर्देशन र नवीन पौडेलको कोरियोग्राफी रहेको भिडियोमा पोखरेलका साथै आस्था न्यौपाने, गोमा न्यौपाने, कमला पोखरेल र स्वयं कार्यक्रमका उद्घोषक डा. विदुर वस्तिको समेत अभिनय देख्न सकिन्छ। भिडियोमा बाल कलाकारको रूपमा श्रृष्टी पोखरेल र आरभ पौडेलले अभिनय गरेका छन्।
गीतमा मना माया वाइवाको मुख्य स्वर र कमला पोखरेल तथा सङ्गी अधिकारी पोखरेलको समूह गायन रहेको छ। गीतमा शेषनारायण पोखरेलले संगीत भरेका छन् ।
हेमराज डाँगीको सङ्गीत संयोजन रहेको गीत सागर खड्काले छायाङ्कन र विनोद बमले सम्पादन गरेका हुन्।














