रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना : मृतकको संख्या दुई पुग्यो
रामेछाप । रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई परशुराम यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मतदान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।
घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुन् ।
रामेछाप नगरपालिका २ देउरालीको शीतलादेवी मावि र वडा नं ३ साँघुटारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको ना ४ ख ६७६८ नम्बर मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् ।
दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिए ।
घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।














