भूटानमा ३२ वर्ष जेल जीवनपछि रिहा भएका रामबहादुर राईलाई आर्थिक सहयोग
सहयात्री ढकाल
ओहायो, अमेरिका / भुटानमा ३२ वर्ष जेल जीवन विताएका राम बहादुर राईलाई आर्थिक सहयोग गरिएको छ।
६६ वर्षीय राईलाई सार्वजनिक कोष सङ्कलन अभियानबाट सङ्कलन गरिएको १ लाख बढी रकम हस्तान्तरण गरिएको हो ।
राई हाल बेलडाँगी शरणार्थी शिविरमा अत्यन्तै कठिनाइमा बाँचिरहेका छन्।
भूटानी राजनीतिक बन्दीहरूको रिहाइको लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) द्वारा १३ जनवरी देखि १५ फेब्रुअरी सम्म आर्थिक संकलन अभियान शुरु गरेको थियो।
बेलडाँगी शिविरका सचिव सञ्चाहाङ सुब्बाले राईको झुपडीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा रकम हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा पूर्व राजनीतिक बन्दी मधुकर मोङ्गर र दिलकुमार राई, चामगाङस्थित राजनीतिक बन्दी ओमनाथ अधिकारीकी आमा श्रीमती डम्बर कुमारी अधिकारी र काठमाडौँका अनुभवी पत्रकार देवेन्द्र भट्टराई उपस्थित थिए।

जीसीआरपीपीबीको तर्फबाट संस्थापक राम कार्कीले आफ्नो टोलीप्रति हार्दिक आभार व्यक्त गरे र सबै दाताहरूलाई उनीहरूको उदारता र ऐक्यबद्धताको लागि विशेष धन्यवाद दिए।
कार्कीले सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता मानवीय पहलहरू निरन्तर रहने विश्वास व्यक्त गरे।
उनका अनुसार संस्थाले यसअघि पनि राजनीतिक बन्दीका परिवारलाई सहयोग गर्ने, हालै रिहा भएका तथा बिरामी पूर्व बन्दीहरूलाई राहत उपलब्ध गराउने र भुटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि निरन्तर वकालत गर्दै आएको छ।
रामबहादुर राई १९९० को दशकको सुरुआतमा भुटानबाट जबरजस्ती विस्थापित नेपालीभाषी समुदायका सदस्य हुन्।
सन् १९९४ मा विस्थापित नागरिकको घर फर्कने अधिकारको शान्तिपूर्ण वकालत गर्दै भुटान फर्किएका उनलाई राजनीतिक पर्चा वितरण गरेको आरोपमा राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो। कानुनी प्रतिनिधित्वबिना नै मुद्दा चलाइ उनलाई ३१ वर्ष १० महिना कैद सजाय सुनाइएको थियो।
चामगाङ केन्द्रीय कारागारमा करिब ३२ वर्ष बिताएका राईले कारावास अवधिमा यातना, कुपोषण र स्वास्थ्य सेवाबाट वञ्चित अवस्था भोग्नुपरेको बताइएको छ। ५ जुलाई २०२४ मा रिहा गरिएपछि उनलाई तुरुन्तै भुटानबाट निष्कासन गरिएको थियो। दुई दिनपछि उनी बेलडाँगी शरणार्थी शिविर आइपुगेका थिए।
हाल उनी कुनै स्थायी आयस्रोत, पारिवारिक सहयोग वा कानुनी कागजातबिना सानो झुपडीमा बस्दै आएका छन्। दीर्घकालीन रोग र कमजोर स्वास्थ्यका कारण उनलाई नियमित उपचार, औषधि र अनुगमन आवश्यक रहेको बताइएको छ। आयोजकहरूले सर्वसाधारण तथा मानव अधिकारसम्बन्धी संघसंस्थाहरूलाई उनको सहयोगमा साथ दिन अपिल गरेका छन्।
















