भुटानी शरणार्थीका बारेका पुस्तक पेन्सिल्भेनियाका स्कूलमा पढाइनु पर्छ : सिनेटर प्याटी किम
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया राज्य सिनेटर प्याटी किमले नेपाली भाषी भुटानी शरणार्थीका बारेमा टिका ढुङ्गनाद्वारा लिखित तीन वटा पुस्तकलाई पेन्सिल्भेनियाका विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिनु पर्ने र त्यसका लागि आफुले पहल गर्ने बताएकी छिन्।
पेन्सिल्भेनिया ह्यारिसबर्गमा टिका ढुङ्गनाका तीन पुस्तक एकैसाथ विमोचन
ह्यारिसबर्गमा शनिवार तीन वटा पुस्तकको विमोचान पछि बोल्दै सिनेटर किमले टिका ढुङ्गनाका पुस्तकहरूले नेपाली भाषी भुटानी समुदायको शरणार्थी जीवन, पीडा, संघर्ष र अमेरिकामा पुनःस्थापनापछिको यात्रालाई गहिरो रूपमा चित्रण गरेको उल्लेख गरिन्।
उनले यस्ता वास्तविक आप्रवासी कथाहरू विद्यार्थीहरूका लागि सिकाइको महत्वपूर्ण सामग्री बन्न सक्ने धारणा राखिन्।
“यी पुस्तकहरू केवल एउटा समुदायको कथा मात्र होइनन्, यो आप्रवासी अनुभव, मानवीय संघर्ष र आशाको कथा हो,” किमले भनिन्। “यस्ता कथाहरू कक्षाकोठामा पुग्नैपर्छ।”
उनले पेन्सिल्भेनिया शिक्षा विभागसँग यस विषयमा छलफल सुरु गर्ने बताउँदै राज्य प्रतिनिधि जस्टिन फ्लेमिङसँग पनि समन्वय गरेर पुस्तकहरू विद्यालयमा पढाउने सम्भावनाबारे कुरा अघि बढाइने जानकारी दिइन्।
आवश्यक परे आफूले नै पुस्तक खरिद गरेर शिक्षकहरूलाई पढाउन सहज बनाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।
सिनेटर किमले आगामी मे महिनामा मनाइने एसियन अमेरिकन तथा प्यासिफिक आइल्यान्डर हेरिटेज महिनाको अवसर पारेर टिका ढुङ्गनाका यी पुस्तकहरू कक्षाकोठामा समेट्न सकिने सम्भावनाबारे पनि चर्चा गरिन्।
“शिक्षकहरूले यो पुस्तक कक्षामा पढाउन सक्छन्,” उनले भनिन्, “यो २० मिनेटमै पढ्न सकिने खालको छ, अनि त्यसपछि छलफल गर्न सकिन्छ।”
सिनेटर किमले शरणार्थी जीवनका कथा सामान्य प्रश्न वा औपचारिक जिज्ञासामा सीमित गर्नु अनुपयुक्त हुने बताउँदै पुस्तकजस्तो लिखित माध्यमबाट इतिहास बुझ्नु आवश्यक रहेको धारणा राखिन्।
“कसैलाई किराना पसलमा भेटेर ‘रेफ्युजी क्याम्प कस्तो थियो?’ भनेर सोध्नु उपयुक्त हुँदैन,” उनले भनिन्, “तर यस्तो राम्रोसँग लेखिएको, सरल र सुन्दर पुस्तकमार्फत त्यो इतिहास बुझ्न सकिन्छ।”
“मैले सोचेभन्दा धेरै कठिन यात्रा रहेछ”
टिका ढुङ्गनाको ‘फ्रम पीस टु पेन टु प्रमिस’ पुस्तकबारे बोल्दै सिनेटर किमले पुस्तक पढ्दा आफू गहिरो रूपमा छोइएको बताइन्।
“आफ्नै सुन्दर मातृभूमिबाट जबर्जस्ती निकालिनु, शरणार्थी शिविरको जीवन, आगजनी, डर र पीडा—यो सबै पढ्न सजिलो थिएन,” उनले भनिन्, “यो निकै कठिन तर अत्यन्त जरुरी कथा हो।”
उनले पुस्तकमा समेटिएको लेखकको परिवारको तस्बिरको उल्लेख गर्दै तीन छोरी र एक छोराको भविष्यप्रति आशा र सम्भावना झल्किएको बताइन्। “मलाई तीमध्ये एक सानी छोरीले आफ्नै बाल्यकाल सम्झाइन्,” उनले भनिन्।
आप्रवासी परिवारको कथा जोड्दै
आफ्नो व्यक्तिगत जीवनसँग पुस्तकको सन्दर्भ जोड्दै सिनेटर किमले आफू पनि आप्रवासी परिवारबाट आएको बताइन्।
“मेरो परिवार कोरियन युद्धको पृष्ठभूमिबाट अमेरिका आएको हो,” उनले भनिन्, “म सान डिएगोमा जन्मिएँ, घरमा पौडी पोखरी थियो, म निकै सुविधामा हुर्किएँ। तर मेरी आमाले सधैं भन्नुहुन्थ्यो—‘प्याटी, तिमी धेरै भाग्यमानी छौ।’”
उनले इतिहास नबुझुन्जेल आफू त्यो भाग्यको मूल्य नबुझेको स्वीकार गरिन्। “जब इतिहास बुझिन्छ, तब कृतज्ञता जन्मिन्छ,” उनले भनिन्, “र कृतज्ञताले समाजलाई फिर्ता दिन प्रेरित गर्छ, जुन आज तपाईंहरू गर्दै हुनुहुन्छ।”
‘इतिहास थाहा भए बुलिङ कम हुन्छ’
सिनेटर किमले ह्यारिसबर्ग स्कूल डिस्ट्रिक्ट र स्वाटारा टाउनसिपका विद्यालयहरूमा आप्रवासी तथा शरणार्थी बालबालिकाले भोग्ने दुर्व्यवहार (बुलिङ) को विषय पनि उठाइन्।
“कतिपय बालबालिका जिस्क्याइन्छन्, अपमानित हुन्छन्,” उनले भनिन्, “तर यदि अरूले उनीहरूको इतिहास थाहा पाए भने भन्छन्—‘यी त साहसी मानिस हुन्, कडा संघर्ष गरेर यहाँ आइपुगेका हुन्।’”
उनले इतिहास शिक्षाले सम्मान र गर्व पैदा गर्ने बताउँदै भनिन्, “त्यसपछि सबैले भन्छन्—हामी यिनलाई हाम्रो समुदायको साथीका रूपमा गर्व गर्छौं।”
अमेरिकीहरूलाई पनि इतिहास सिकाउनुपर्छ
सिनेटर किमले पुस्तक केवल आप्रवासी समुदायका लागि मात्र नभई अमेरिका जन्मेका नागरिकहरूका लागि पनि उत्तिकै आवश्यक रहेको बताइन्।
“यहाँ जन्मेका अमेरिकीहरूले पनि तपाईंहरूको इतिहास जान्नुपर्छ,” उनले भनिन्, “त्यसले तपाईंहरूलाई हाम्रो समुदायको हिस्सा भएकोमा गर्व गर्न सिकाउँछ।”

















