‘देशभक्ति र अर्थनीतिको संगम: ट्रम्प नेतृत्वको टैरिफ उपलब्धि’
त्रिविक्रम नेउपाने
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा ३० सेप्टेम्बरसम्म संघीय सरकारले १.९५ ट्रिलियन डलर बराबरको ‘टैरिफ’ राजस्व सङ्कलन गरेको ऐतिहासिक उपलब्धि केवल आर्थिक सफलताको तथ्य मात्र होइन। यो राष्ट्रभक्ति, स्वाधीनता, स्वदेशी अभिमान र अमेरिकी पहिचानका मूल मूल्यहरूलाई व्यवहारमै उतारिएको एक बलियो उदाहरण हो।
ट्रम्पको नेतृत्वशैलीलाई प्रायः विभाजित रूपमा व्याख्या गरिन्छ, तर आर्थिक कठोर निर्णयका क्षेत्रमा उनको साहस, आत्मविश्वास र “देश पहिलो” को स्पष्ट दृष्टिकोण जसरी नतिजामा परिणत भयो, त्यो आज विश्वका आर्थिक–राजनीतिक बहसहरूमा विशेष रूपमा उजागर भइरहेको छ।
ट्रम्पले प्रस्तुत गरेको टैरिफ,नीति केवल आयात नियन्त्रण वा राजस्व वृद्धि गर्ने प्रविधिक कदम थिएनन्। त्यो नीतिको मूल जरो देशबारेको गर्वमा थियो।
अमेरिकी उत्पादन, अमेरिकी श्रम, अमेरिकी कारखाना, र अमेरिकी पहिचानलाई पुनः सशक्त बनाउने राष्ट्रिय संकल्पमा थियो। वर्षौँदेखिको अत्यधिक आयात निर्भरता, बाहिरी बजारले थिचेको घरेलु उद्योग, र विदेशी प्रभावमा कमजोर परेको अमेरिकन कामदारका आवाजलाई सुनिदिने निर्धारित प्रतिबद्धता नै उनको आर्थिक क्रान्तिको प्रेरणा थियो।
उनले विदेशी वस्तुलाई अमेरिकी बजारमा सहज प्रवेश हुने परम्परागत ढिलासुस्ती हटाएर शुल्क दीवार निर्माण गरे। यसले एकैपटक दुई महत्वपूर्ण परिणाम दियो—विदेशी वस्तु सस्तो मूल्यमा पस्न कठिन बन्यो, र त्यही अबरोध अमेरिकालाई एक विशाल राजस्व स्रोतका रूपमा परिणत भयो।
१.९५ ट्रिलियन डलरको यो संकलनले ट्रम्प प्रशासनले अपनाएको राष्ट्रिय स्वाभिमान केन्द्रित आर्थिक नीति कति प्रभावकारी थियो भन्ने कुरा स्पष्टसँग प्रमाणित गर्छ। यो रकम मात्र कर संकलन होइन; यो देशभक्तिले मार्गदर्शन गरेको आर्थिक रणनीतिको ठूलो विजय हो।
ट्रम्पको देशभक्ति यहाँ भाषणमा मात्र सीमित रहेन, उनले त्यो भावना रोजगारी, उद्योग, उत्पादन, सीमान्तीकरण र अन्तर्राष्ट्रिय व्यापार कूटनीति सबै क्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गरे।
अमेरिकी फ्याक्टरीहरू फेरि धुवाँ उगलिन थाले, मध्यम वर्गले फेरि आफ्नो काममा अभिमान महसुस गर्न थाल्यो, र अमेरिकी झण्डा पुनः “निर्माण–आधारित राष्ट्र” को पहिचानका साथ फहराउन थाल्यो।
उनको नीति र संरचनामा यति गहिरोसँग लागू भयो कि लाखौँ अमेरिकनलाई यो ‘देशभक्तिपूर्ण पुनर्जागरण’ जस्तै लाग्न थाल्यो। यस्तो दृष्टिकोणले अमेरिकी नागरिक मात्र होइन, विश्वका सरकारी नेतृत्वलाई पनि एउटा कडा सन्देश दियो।
आर्थिक सार्वभौमिकता भनेको केवल विदेशी ऋण कम गर्नु वा कर प्रणाली परिमार्जन गर्नु मात्र होइन; त्यो राष्ट्रको पहिचान, श्रम, सीप र क्षमता सुरक्षित राख्ने दीर्घकालीन प्रतिबद्धता हो। नेपालजस्ता अनेकन विकासशील राष्ट्रहरूले पनि यहाँ गहिरो पाठ लिन सक्छन्।
दशकौँदेखि देखिरहेको आयात निर्भरता, कमजोर स्वदेशी उत्पादन शक्ति, र विदेशीवस्तु–मुखी बजार चरित्र यही दृष्टिकोणले परिवर्तन गर्न सक्छ। राष्ट्रप्रेम भनेको देशभक्तिमूलक गीत गाउनु मात्र होइन। ट्रम्पले जस्तै कडा निर्णय लिन सक्ने हिम्मत गर्नुपर्छ, आफ्नै उद्योगलाई जोगाउन, आफ्नै श्रमिकलाई प्राथमिकता दिन, र वैकल्पिक राजस्व स्रोत विकास गर्न दृढ कदम चाल्नुपर्छ।
यही कारणले, ट्रम्पको टैरिफ सफलता अमेरिकाका लागि मात्र एउटा विलक्षण उपलब्धि होइन।यो विश्वलाई दिएको एउटा उदाहरण हो कि राष्ट्रीय स्वाभिमान, साहसिक नेतृत्व र राष्ट्रहितमा आधारित आर्थिक नीति मिलेर राष्ट्रका आधारभूत संरचनालाई नै नयाँ दिशा दिन सक्छ।
१.९५ ट्रिलियन डलरको त्यो राजस्व आज अमेरिकाको खजाना समृद्ध गरिरहेको छ, तर त्यसभन्दा ठूलो कुरा,त्यसले अमेरिकी जनताको मनमा बस्ने देशभक्ति, गर्व, आत्मसम्मान र राष्ट्रिय पुनरुत्थानको भावना अझ गहिरो बनाइरहेको छ। ट्रम्पको नेतृत्वले फेरि पुष्टि गरिदियो साँचो राष्ट्रभक्ति वाक्यमा होइन, देशका लागि कठिन निर्णय लिन सक्ने दृढतामा हुन्छ।
र यो पनि …
कार्यक्रम सफलताको अदृश्य आधार : पत्रकार















