बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने रहेछ : कुलमान

नारायण भण्डारी
अस्टिन, टेक्सास / उज्यालो नेपालको अभियान लिएर हाल अमेरिकामा रहेका नेपालीहरु सँग भेटघाट र संवादमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली बत्तीको उज्यालोले मात्र देश उज्यालो हुन नसकेको बताए ।
मध्यपूर्व देखि अमेरिका हुदै युरोप सम्म प्रवासमा रहेका नेपालीहरु सँगको भेटधाट र संवाद कार्यक्रम लिएर आएका उनी आइतबार टेक्सासको राजधानी अस्टिन आईपुगे ।
आइतबार ग्रेटर अस्टिन चेम्बर अफ कमर्श द्वारा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा वोल्दै उनले आफु सक्रिय राजनितिमा आउने स्पस्ट संकेत गरे ।
नेपालमा लामो समय लोडसेडिङको समस्या भोगेका नेपालीलाई लोडसेडिङ हटाएर उज्यालो दिन सफल र कुशल ब्यवस्थापक मानिएका उनले आफु देशको वर्तमान राजनितिक नेतृत्वबाट असन्तुष्ट रहेको प्रस्ट पारे ।
देशमा नेतृत्व गरिरहेका राजनितिक पार्टीहरु प्रति नरम भएर कटाक्ष गर्दै उनले अव मुलुकमा विश्वासिलो नेतृत्व जन्मनु पर्ने बताए । उज्यालो नेपाल अभियानको आशय प्रस्ट पार्दै घिसिङले यो स्वतन्त्र अभियानलाई साथ दिन अमेरिकावासी नेपालीहरु सँग सहयोगको अपेक्षा गरे । उनले भने “यो स्वतन्त्र अभियान हो, यसले मुलुकमा राम्रो नेतृत्व जन्माउने छ, यसमा सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु” ।
बिजुली बत्तीको उज्यालोले मात्र देश उज्यालो नभएको धारणा राख्दै यो उज्यालो नेपाल अभियानले देशका हरेक क्षेत्रलाई उज्यालो बनाउने उनको दाबी थियो ।
उनले प्रवासमा रहेका नेपालीहरुका नागरिकता र लगानीका अवसर लगाएतका गुनासालाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले अहिले नेपालीले नै नेपालमा लगानी गर्ने वातावरण नरहेकोले विदेशीले कसरी लगानी गर्छ भन्ने प्रश्न गर्दै छिमेकी मुलुक भारत र चीन विदेसमा रहेका आफ्ना नागरिकको सिप र विज्ञताले लाभान्वित भएको स्मरण गराए ।
“तपाईहरुबाट देशले ठुलो आशा गरेको छ, तपाईहरुको आवाजलाई प्रतिनिधित्व गर्दै मुलुक निर्माणमा सहयोग गर्ने छु यो मेरो कमिटमेन्ट हो” उनले भने ।
“प्रवासमा बसेपनि तपाईहरु नेपाली हो नेपाली नै भएर बसौ”उनले अगाडि भने । अहिलेका नेपालका कुनै राजनितिक दलहरु प्रति आफ्नो झुकाव नरहेको जिकिर गर्दै उनले आफ्नो अभियानले नयाँ नेतृत्व जन्माऊन सक्ने बताए ।
घुमाउरो पारामा उनले २०८४ अघिनै राजनितिमा उत्रन लागेको संकेत गरे । नेपाली जनता प्रति आफुले देखाएको ईमान्दारीमा गर्व गर्दै उनले भने “ मलाई वर्खास्त गरेकोमा गुनासो छैन, जनताले दिएको माया मेरो मुल्याङ्कन हो “। कार्यक्रम कमर्शका अध्यक्ष सिपी पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कुलमान घिसिङलाई टेक्सासको विश्व प्रसिद्ध टोपी र मायाको चिनो प्रदान गरिएको थियो ।