एनआरएनए उच्चस्तरीय समितिको सदस्यता लिने अन्तिम दिन आज
काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर संस्थालाई लोकतान्त्रीकरण र सुधार गर्न योगदान दिन आह्वान गरेका छन्।
एनआरएनए उच्चस्तरीय समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले उच्चस्तरीय समितिले सर्वोच्च अदालतले दिएको जिम्मेवारी पूरा गर्न एकदमै उत्तरदायी भएर काम गरिरहेको बताए । आर्थिक समितिका संयोजक पनि रहेका आचार्यले डेलिगेट्स दर्ताका लागि १ सय डलर अर्थात् १४ हजार नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने निर्णय गरिएको बताए । उनले २२ अप्रिल भित्र डेलिगेट्स बन्न निवेदन दिन पनि अपिल गरे। “अझै पनि एक ठाउँमा बसेर समस्या समाधान गरेर अधिवेशन गरौँ। हामीले सहमति गरेर एक भएर गैर आवासीय नेपालीहरूका मुद्दा अगाडि बढाउनु पर्ने छ । फेरि पनि व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थालाई एकताबद्ध बनाउने विषयमा सोची दिनुहोला,” उनले भने।
उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले महाधिवेशनको तयारी तीव्र रूपमा भई रहेको बताइन् । ” सुरुका दिनमा हामीले सचिवालय हामीलाई हस्तान्तरण हुन्छ भनेर आशा गरेका थियौँ । तर त्यो नभएपछि अहिले हामीले अफिसको स्पेस पनि बढाएका छौँ । सदस्यता एप्रुभलमा ढिलाइ भएकोमा अहिले हामी पूर्ण रूपमा तयार भएका छौँ । । यस विषयमा अन्यथा नसोचिदिनुहुन अनुरोध गर्दछु,” उनले भनिन । सदस्य सचिव गुरुङले उच्चस्तरीय समितिको पोर्टलमा १४ हजार भन्दा बढीले सदस्यताको लागि निवेदन दिएको र डेलिगेट्सका लागि २ सय भन्दा बढी निवेदन आएको बताइन् ।
अमेरिका निवासी एनआरएनए अभियन्ता डा. केशव पौडेलले सबैले लचकता देखाएर सबै पक्षलाई एकै ठाउँमा ल्याउँदै यो अधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी भएको बताए । “एनआरएनको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनएको अधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु,” उनले भने।
मलेसियामा बसोबास गर्ने एनआरएन अभियन्ता खगेन्द्र न्यौपानेले पहिला एनसीसीको चुनाव हुने र त्यसपछि आइसिसीको चुनाव हुने गरेको तर यस पटक विगतको भन्दा फरक रहेको बताए । “अदालतको फैसला आएपछि पूर्व अध्यक्षहरूको फोटो फाल्ने अनि त्यही कार्यालयमा बस्न सुहाउँछ कि सुहाउँदैन ?” उनले प्रश्न गरे। उनले सदस्य बन्न कसैलाई पनि वञ्चित नगरिएको र विगतमा जस्तो डेलिगेट्स बन्नका लागि झगडा पनि अन्त्य गरेको बताए । उनले सहमतिमा नेतृत्व चयन गर्न पनि आग्रह गरे।
बेल्जियममा बसोबास गर्ने एनआरएन अभियन्ता लोक दाहालले स्वतःस्फूर्त रूपमा सदस्य बन्न निवेदन आइरहेको र यो उत्साहजनक रहेको बताए । “हामीले एनसीसीहरुलाई बुझाउन सकेको भए मेम्बर सीप बढ्ने थियो । तर अहिलेलाई हामीले सकारात्मक रूपमा लिनु पर्छ,” उनले भने। दाहालले बद्री केसी पक्षले संघको कोषको दुरुपयोग गरिरहेको आरोप लगाउँदै नयाँ निर्वाचित कमिटीले कोषको अडिट गर्ने बताए ।
कार्यक्रमको सञ्चालन मूल आयोजक समितिका सदस्य सचिव गंगाधर गौतमले गरेका थिए।