महिला साफ फाइनलमा फेरि नेपाल बंगलादेशसँग स्तब्ध
काठमाडौं। घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले फाइनलमा बंगलादेशसँग २–१ गोलको पराजय भोग्दै छैटौं पटक साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको छ। बंगलादेशले भने यस जितसँगै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ। बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि रक्षा गरेको हो।
खेल सुरु भएदेखि नै दुवै टोलीले आक्रामक खेल खेल्दै गोल गर्ने प्रयास गरे पनि पहिलो हाफमा कुनै पनि टोली गोल गर्न सकेनन्। खेलको सुरुवाती १० मिनेटमै नेपाल र बंगलादेश दुवैको प्रहार क्रसबारमा लागेपछि गोलको अवसर गुमेको थियो। दुवै टोलीको रक्षा पंक्ति र गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै गोल हुनबाट बचाएका थिए।
दोस्रो हाफको सुरुवातमै खेलमा रोमाञ्चक मोड आयो। खेलको ५१औं मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। मोनिकाको गोलले बंगलादेशलाई सुरुवाती बढत दिएपछि नेपाली समर्थकहरूमा केही तनाव देखिन्थ्यो। यद्यपि, नेपालले झिनो समयमै खेलमा फर्कन सफल भयो।
बंगलादेशको अग्रता धेरै समय टिक्न सकेन। खेलको ५५औं मिनेटमा नेपालकी फरवार्ड खेलाडी अमिशा कार्कीले विपक्षी डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गर्दै नेपाललाई बराबरीमा फर्काइन्। प्रिती राईको मिडफिल्डबाट आएको पासमा बंगलादेशको डिफेन्सलाई छल्दै अमिशाले पेनाल्टी क्षेत्रमा प्रवेश गरी सानदार गोल गरिन्। यस गोलले खेललाई थप रोमाञ्चक बनायो र नेपाली समर्थकहरूले रंगशाला नै गुञ्जायमान बनाए।
तर, खेलको अन्तिमतिर बंगलादेशले पुनः अग्रता लियो। खेलको ८१औं मिनेटमा ऋतु पोर्ना चक्माले बायाँ विंगबाट दिएको क्रसमा नेपाली गोलरक्षक एन्जिलाले बचाउन नसक्दा बल सिधै गोल भयो। एन्जिलाले प्रयास गरे पनि बललाई रोक्न नसक्दा बंगलादेशले २-१ को अग्रता लियो।
यो गोलले खेलमा नेपाललाई पुनः दबाबमा ल्यायो र बाँकी समय नेपालले बराबरी गोल गर्न प्रयास गरे पनि बंगलादेशको बलियो रक्षा पंक्तिले कुनै अवसर दिइन। अन्तिम समयसम्म बंगलादेशले बल पोजिसनमा पकड जमाउँदै नेपाललाई आक्रमण गर्ने अवसर दिएन।
यस हारसँगै नेपालले लगातार छैटौं पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भएको छ। यस प्रतियोगितामा नेपालले लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आए पनि अन्तिम नतिजामा भने बंगलादेशले उपाधि उचाल्न सफल भयो।















