सहकारी काण्डमा पक्राउ परे रास्वपा सभापति रबि लामिछाने

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गरेको हो, जसको पुष्टि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गरेका छन्।
लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई पक्राउ अनुमति दिएको थियो।
प्रहरी टोलीले पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालयमै पुगेर लामिछानेलाई नियन्त्रणमा लिएको हो।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएर अपचलन गरेको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियामा सहयोग गर्ने बताए। उनले आफूलाई पक्राउ गर्नु देशको आशा र भरोसामाथि प्रहार भएको जिकिर गरे।