चीनबाट ल्याइएका झण्डै दश लाख डलर बराबरका नक्कली औंठी अमेरिकी सीमामा बरामद
अमेरिका । अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी)का अधिकारीहरूले ठूलो मात्रामा नक्कली च्याम्पियनशिप औठी बराबद गरेका छन् ।
सीबीपीद्वारा जारी विज्ञप्तिमा तेस्रो पक्ष र खुद्रा विक्रेताहरुले बढी मूल्यमा नक्कली औंठी विक्रि गरिरहेको गुनासो आए पछि चेकजाँचमा एक हजार तीन सय नक्कली औंठीहरु बरामद भएको जनाइएको छ ।
ढुवानीहरू चीनबाट आएको जनाइएको छ । जफत गरिएका सामाग्रीको खुद्रा मुल्य नौ लाख ८२ हजार दुई सय ६३ अमेरिकी डलर कायम गरिएको छ ।
यस्ता औंठीहरु विभिन्न खेलकुद प्रतियोगितामा विजेताहरुलाई दिने गरिन्छ । सीबीपीले धेरै जसो च्याम्पियनशिप औंठीहरु सस्तो सामग्रीबाट बनेका हुने र गुणस्तर खराब हुने पाइएको जनाएको छ ।
सिनसिनाटीको बन्दरगाहमा सीबीपीका अधिकारीहरूले यी औंठी बरामद गरेका हुन् । अक्टोबरदेखि डिसेम्बरसम्मका तीन महिनाको समयमा सीमा सुरक्षामा खटिएका अधिकारीले ५६ ढुवानी ट्रकलाई रोकि चेकजाँच गरेको जनाएको छ ।
सो क्रममा कुल एक हजार तीन सय ८२ औंठी र ट्रफीहरू बरामद गरियो थियो । अधिकारीहरूले ति औंठीको उत्पत्ति र रूपको आधारमा नक्कली भएको आशंका गरेका थिए ।
ति औंठी र ट्रफी बोस्टन रेड सोक्स वर्ल्ड सिरीज, एलए डजर्स, मिलवाउकी बक्स, केन्टकी च्याम्पियनशिप विश्वविद्यालयका थिए ।
सीबीपीका अधिकारीले मिशनको उद्येश्य अमेरिकी उपभोक्ताहरूलाई नक्कली उत्पादनहरू खरिद गर्नबाट बचाउनु रहेको बताएका छन् । उनीहरुले यस्तो जफतले चीनबाट नक्कली उत्पादनहरू रोक्न र अमेरिकाको अर्थतन्त्र जोगाउन मद्दत गर्ने पनि दावी गरेका छन् ।