सत्ता समीकरणमा परिवर्तन : एमाले र माओवादी एक ठाउँमा कांग्रेस बाहिर !
काठमाडौं । पछिल्लो समय माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको विवादका कारण सत्ता समीकरणमा परिवर्तन हुने पक्का जस्तै भएको छ ।
गत वर्षको पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री नमान्दा गुमाएको समीकरण कांग्रेसले राष्ट्रपतिको चुनावका बेला प्राप्त गरेको थियो । त्यसपछि प्रचण्डकै नेतृत्वमा सरकारलाई निरन्तरता दिएको कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन सफल भयो ।
सरकारमा सहभागी कांग्रेसका मन्त्रिहरु फेर्ने विषयमा सभापति शेरबहादुर देउवाले बखेडा झिकेपछि प्रचण्डले काँध फेर्ने अभिव्यक्ति दिएका थिए । कांग्रेस महासमितिको बैठकपछि माओवादी झनै विच्किएको थियो ।
कांग्रेसबाट पटक पटक धोका खाएको निष्कर्ष निकालेको माओवादीको स्थायी समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दबाब नछाड्ने निर्णय गराएको थियो । राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई नै दिएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्म सबै कामको जिम्मा प्रधानमन्त्रीलाई कांग्रेसले दिँदा पनि प्रचण्ड एमालेतर्फ यु टर्न भएको राजनीतिक बृत्तमा चर्चा छ ।
सोमबार विहान बस्ने भनिएको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको बैठक स्थगित भएको छ भने अहिले एकाएक बालकोटमा राजनीतिक सरगर्मी बढेको छ ।
अब फेरि बालकोट गठबन्धन ब्युतिने भएपछि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले निरन्तर छलफल गरिरहेका छन् । नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरुसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको एक नेताले जानकारी दिए ।
नयाँ गठबन्धन बन्दा प्रधानमन्त्री प्रचण्ड नै हुने छन् भने उक्त सरकारमा एमाले, रास्वपा, जसपा लगायतका दलको पनि सहभागीता हुने गरी छलफल भइरहेको छ ।

















