कांग्रेसले जन सम्पर्क समितिलाई पारदर्शी बनाउने
काठमाडौँ/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउनु पर्नेमा जोड दिएका छन् ।
सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्ने ‘नेपाली कांग्रेसको नीति तथा प्रस्तावमा’ उपसभापति खड्काले विदेशमा रहेका नेपालीहरू विश्वभरि फैलिएको र यो स्वदेशका लागि आर्थिक र बौद्धिक शक्तिको स्रोतको रूपमा व्याख्या गरेका छन् ।
उनले कांग्रेसका समर्थक कार्यकर्ताहरूलाई संगठित गरी जनसम्पर्क समितिहरूको गठन गर्ने व्यवस्था रहेको र यो व्यवस्थालाई व्यावहारिक र पारदर्शी बनाउँदै सङ्गठनका सदस्यहरूको क्षमता विकास गराउन तथा राजनीतिक चेतना अभिवृद्धि गराउन योग्य प्रशिक्षकहरू खटाई प्रशिक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् ।
त्यसै गरी कामको सिलसिलामा विदेशमा रहेका आप्रवासी नेपालीहरूको दक्षता, कौशल र पुँजीलाई लोकतन्त्र र राष्ट्र निर्माणमा प्रभावकारी ढङ्गले परिचालन गरिने कुरा पनि उल्लेख गरेका छन् ।
उपसभापति खड्काले सम्बन्धित मुलुकसँगको कूटनीतिक सम्बन्धका आधारमा उनीहरूको थप अधिकार पहल गरिने र सुविधा वृद्धिका लागि आगामी आमनिर्वाचनमा नै विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले निर्णायक पहल गर्ने कुरालाई पनि प्राथमिकता दिएको छ । साथै, नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गैर आवासीय नेपाली समुदायको संविधान प्रदत्त हक, अधिकार र सुरक्षा प्रत्याभूत गरिने पनि प्रस्तावमा उल्लेख गरेका छन् ।














