एसियन कप फुटबल : अस्ट्रेलियासँग भारत २–० ले पराजित
काठमाडौँ । कतारमा जारी एसियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ । शनिवार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २–० गोल अन्तरले जित निकाल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
५० औँ मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो । भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गरेका थिए ।
७३ औँ मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २–० को जितका साथ प्रतियोगितामा सुखद सुरुआत गर्न सफल भयो ।
अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हाबी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६ औँ मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो ।
जितपछि समूह बी मा अस्ट्रेलिया ३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ ।














