डा. हेमन्त घिसिङ ‘डिस्का’ अध्यक्षमा पुन: निर्वाचित
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
सहयात्री ढकाल
रेनोल्ड्सबर्ग,ओहायो/ अमेरिकाको भ्रमन्ट निवासी डा.हेमन्त घिसिङ ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) को अध्यक्षमा पुन: निर्वाचित भएका छन्। डिस्का नेपाली भाषी भुटानीहरूमा सक्रिय संस्था हो। यसको विश्वभर नौ स्थानमा शाखा रहेको छ।
ओहायोको रनोल्डसबर्गमा डिसेम्बर अन्तिम साता सम्पन्न सातौँ साधारण सभाले घिसिङलाई पुन अध्यक्षमा चयन गरेको हो। उनी निर्विरोध चयन भएका हुन्। अबको कार्यकाल तीन वर्षको रहने छ। डिस्का सन् २०१६ मा स्थापना भएको हो। सन् २०१७ मा घिसिङ पहिलो पटक अध्यक्ष चयन भएका थिए।
बाँकी योजना पुरा गर्न आफूले पुन जिम्मेवारी लिएको नवनिर्वाचित अध्यक्ष घिसिङले बताए। ‘हाम्रो प्रयास र समुदायको साथ रह्यो भने अमेरिकामा आफ्नै भवनमा डोजो चलाउने लक्ष्य छ, त्यसका लागि मैले फेरि नेतृत्व लिएको हुँ।’ समाज टाइम्स सँग उनले भने, ‘अर्को कुरा हाम्रा खेलाडी अहिले एडभान्समा मात्र खेल्दै छन् उनीहरूलाई राष्ट्रिय टिममा पुर्याउने र भविष्यमा अमेरिकी राष्ट्रिय टिममा नै सहभागी गराउन योजना बनाउनु छ।’
डिसेम्बर ३० र ३१ तारिख सम्पन्न साधारण सभाले घिसिङको अध्यक्षतामा सात सदस्य नयाँ बोर्ड पनि गठन गरेको छ। सोकि रन राई र तुला ढकालको निर्वचन समितिले पुरानो बोर्डलाई खारिज गरेर नयाँ बोर्ड अफ डाइरेक्टरको गठन भएको घोषणा गरेको हो।
जस अनुसार अमर साउदेनले उपाध्यक्षको जिम्मेवारी पाएका छन्। राज बराल सचिव र याम विष्ट सहायक सचिवमा चयन भएका छन्। टेक नेपालले पुन कोषाध्यक्षको जिम्मेवारी पाएका छन्। निम लामा सहायक कोषाध्यक्षमा चयन भए।
सोकि रन राई स्थायी बोर्ड सदस्य तथा प्राविधिक प्रमुख चयन भएका छन्।
डिस्का सोकि राई नयाँ बोर्ड गठनबाट आफू उत्साहित भएको बताए। समाज टाइम्स सँगको कुराकानीमा उनले भने ‘नयाँ र पुरानो पुस्ताको मिश्रण भएको छ, यो राम्रो हो म खुसी छु।’
उनले अब आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूलाई ध्यानमा राखेर योजनाहरू बनाउने बताए। ‘डिस्कामा रहेका खेलाडीलाई प्रशिक्षणको लागि जापान जाने योजन छ त्यसलाई पनि कसरी सफल बनाउने भन्ने कुरा छ।’ राईले भने, नयाँ बोर्डले यसलाई निर्णय गरेर जाने छ।’
सचिव राज बरालका अनुसार दुई दिने साधारण सभाको पहिलो दिनको वार्षिक सभा तत्कालीन उपाध्यक्ष एवम् आयोजक समितिका संयोजक मनि राईको मन्तव्यबाट सुरु भएको थियो। तत्कालीन सचिव राज मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष टेक नेपालले वार्षिक आयव्ययको विवरण पेस गरेका थिए भने अध्यक्ष डा हेमन्त घिसिङले विधानका बारेमा स्पष्ट पारेका थिए।
बोर्डद्वारा विभिन्न समिति गठन
डा. घिसिङको अध्यक्षमा बसेको नयाँ बोर्डले विभिन्न समितिहरू गठन गरेको छ। सोकि रन राई प्रमुख रहेको प्राविधिक विकास तथा अनुसन्धान समितिमा डुम्पा थापा सचिव तथा सदस्यमा राज मगर र मनि राई रहेका छन्।
यस्तै विशेष प्राविधिक समितिमा सोकी रन राई डुम्पा थापा ,सदस्यहरूमा राज मगर, मनि थुलुङ राई , तुला ढकाल, याम विष्ट, ड्यानी तामाङ, निम लामा र अमर साउदेन रहेका छन्।
उप प्राविधिक समितिको संयोजकमा ओत्सा हाङ राई तथा सदस्यमा नवीना सुब्बा, सेशेहाङ राई, जेनिशा भट्टराई, रेहान पण्डक र निरज नेपाल रहेका छन्।
साधारण सभाले पारित प्रस्तावहरू
१)प्राविधिक समितिले प्रेस र मिडियालाई हेर्ने
२.प्राविधिक उपसमितिको कामको विवरण, भूमिका र जिम्मेवारीहरू आगामी २ महिनामा रेखाङ्कित गरिनेछ। (फेब्रुअरी २०२४)
सदस्यताका विषयमा पनि स्पष्ट नीतिहरू पारित गरेको छ।
सबै सेन्सिसहरूले सदस्यता सक्रिय राख्न र शुल्क तिर्न आवश्यक छ।
सबै सेन्सिहरूलाई रातो पास बुक समात्न आवश्यक छ
सबै डिस्का विद्यार्थीहरूले निलो पास बुक धारण गर्न आवश्यक छ।
हान्को सबै डोजो प्रशिक्षक र अधिकारीहरूलाई प्रदान गरिएको छ।साथै डिस्काको पाठ्यक्रम पनि थपिएको छ।
सातौँ साधारण सभा सफल बनाउन उल्लेख्य भूमिका खेलेकोमा डिस्का रेनोल्ड्सबर्ग डोजोका प्रशिक्षक सेन्सि तुला ढकाल, सेन्सि मनि राई, अभिभावक र स्वयंसेवक प्रति धन्यवाद व्यक्त गरेको जनाएको छ।
निर्वतमान सचिव राज मगरले नवगठित बोर्डलाई शुभकामना दिँदै आफूले सहयोग गर्ने बताए।
‘यस संस्थाले आज सम्म आउँदा धेरै उदाहरणीय कामहरू गरेको छ अझै नयाँ समितिले सफलताको साथ आफ्नो कार्यकाल अगाडि बढाउने विश्वासका साथ सफलताको शुभकामना गर्दै कुनै सहयोगको आवश्यकता परे आफूले सक्दो सहयोग गर्ने छु।’ उनले भने ।
विभिन्न व्यक्तिको सम्मान र पुरस्कार वितरण
ढिस्काले समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। अध्यक्ष डा. घिसिङको सभापतित्व र स्वगत मन्तव्यबाट सुरु भएको साधारण सभाको दोस्रो दिनको वार्षिक पुरस्कार समारोहमा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
वार्षिक पुरस्कार समारोहमा रेनोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेल, हिमालयन डे केयरका सिइयो काशी अधिकारी, याक एन्ड यति रेस्टुरेन्ट र आइभोरी होम केयरका सिइयो अर्जुन सुवेदीको उपस्थिति रहेको थियो।
यस्तै युवा समुदायका नेता सुरज बुढाथोकी, भुटान साहित्य परिषद्का अध्यक्ष गङ्गाराम लामितारे, शिक्षिका मिना अधिकारी, फेयरवे-लोन अधिकारी लक्ष्मी सङ्ग्रौला, नामसारा होम केयरका गोपाल मगर, सामुदायिक युवा नेता नारायण खनाल, सितोरिया कराते डो एसोसिएसनका प्रमुख प्रशिक्षक शिव योगी र २४/७ होम हेल्थ केयरका यादव धिताल लगायत अतिथिहरूको उपस्थिति थियो।
रेनोल्ड्स्वर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलले आफ्नो तर्फबाट प्रोक्लोमेसन वाचन गर्दै डिस्काका खेलाडीलाई सन् २०२८ मा अमेरिकामा ओलम्पिकमा समावेश भएर पदक प्राप्त गरुन् भन्ने आफ्नो चाहाना रहेको बताए।
जेनिसा भट्टराईले सञ्चालन गरेको उक्त समापन वार्षिक पुरस्कार समारोहमा विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको थियो।
पुरस्कृत हुनेहरु
डिस्का उत्कृष्ट वेटरन अफ द इयर-२०२३: तुला ढकाल (रेनोल्ड्सबर्ग, ओएच)
डिस्का उत्कृष्ट स्टुडेन्ट अफ द यार २०२३ सेसेहाङ राई(पुरुष)एटलान्टा
डिस्का स्टुडेन्ट अफ द यार २०२३ सिर्जना बास्तोला (महिला )रेनोल्ड्सबर्ग,
डिस्का प्रेसिडेन्ट अफ द यार २०२३ नविना सुब्बा (पिट्सबर्ग, पीए)
डिस्का प्यारेन्ट अफ द यार २०२३ :बिबेक खवास (भर्मन्ट)
डिस्का कमिनिटि अफ द यार २०२३ : अम्मल थुलुङ ह्यारिसबर्ग
कार्यक्रममा स्लोभेनियामा पदक विजेताहरुलाई सम्मन् गर्नु साथै डिस्का ओपन २०२३ लाई आर्थिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरुलाई अध्यक्ष घिसिङ र सोकि रन राईले सम्मान गरेका थिए।
अध्यक्ष घिसिङले डिस्काको ईतिहासबारे संक्षिप्त पारेका थिए। सहयोगी दाताहरुलाई धन्यवाद थिएका थिए।
प्रेसिडेन्ट एवार्डबाट सम्मानित भएकी नविना सुब्बाले डिस्का टिमलाई धन्यवाद दिदै भनिन ‘म यस पुरस्कारको लागि डिस्का टोलीलाई धन्यवाद दिन चाहन्छु।’ उनले भनेकी छिन, ‘म धेरै आभारी छु कि मलाई यी पुरस्कारहरूको लागि आमन्त्रित गरिएको छ। नयाँ पुस्ता करातेकाहरुलाई शुभकामना। मेरो कलेज पछि म पक्कै फर्कनेछु’।
यसै गरी डिस्का स्टुडेन्ड अफ द य्यार (महिला)२०२३बाट सम्मानित सिर्जना बास्तोलाले डिस्का टिम प्रति आभार व्यक्त गरेकी छिन। ‘यो सम्मान प्रति धेरै आभारी छु।’ सेन्सि तुला ढकाल र सेन्सि मनि राई प्रति धेरै धन्यवाद छ उहाँहरूको मेहनतले नै आज म यहाँ सम्म आएको हुँ।’
आफ्नै आँगनमा ऐतिहासिक सातौँ साधारण सभा सम्पन्न गरेको भन्दै आयोजक प्रमुख मनि राईले खुसी व्यक्त गरेका छन्।
त्यसै गरी विगत भन्दा फरक किसिमले यस पालीको साधारण सभा भएको कुरालाई कोषाध्यक्ष टेक नेपालले बताए।
सहायक कोषाध्यक्ष निम लामाले खेलाडीहरूको उन्नतिलाई विशेष ध्यानमा राखेर योजनाहरू बनाउने बताए।
डिस्का डोजो रेनोल्डसवर्गका तर्फबाट प्रशिक्षक तुला ढकालले धन्यवाद मन्तव्य दिएका थिए भने सोकि रन राईले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।
















