एनआरएनए बद्री समुहले सदस्य शुल्क १ डलरमा झार्ने, सबै सदस्यले भोट दिन पाउने

पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. बद्री केसी समूहले एनआरएन सदस्यता शुल्क घटाउने भएको छ ।
अक्टोरब १९ मा भएको निर्वाचनपछि २ समूहमा विभाजित भएको वद्री केसी अध्यक्ष तथा गौरीराज जोशी महासचिव रहेको समूहले अब सदस्यता शुल्क घटाउने र सबै साधारण सदस्यले आइसीसीको नेतृत्व चयनमा भाग लिने निर्णय गर्ने तयारी गरेको छ ।
महासचिव जोशीले समाजटाइम्ससँग कुरा गर्दै आउँदो जनवरी २१ र २१ गते भौतिकरुपमै काठमाडौंमा बैठक बस्ने जानकारी पनि दिए । उनले सोही बैठकमा सदस्यता शुल्क १ डलरमात्रै कायम गर्ने र आइसीसीको चुनावमा सबैले मतदान गर्ने व्यवस्थाको विषयमा निर्णय हुने बताए । सदस्यता शुल्क विभिन्न एनसीसीमा फरक छ ।
अमेरिकामा एनआरएन सदस्य बन्न २० डलर तिर्नु पर्नेमा यो व्यवस्था लागू भएमा १९ डलर बचत हुने छ । जनवरीको बैठकबाट निर्णय गराएर त्यसपछिको साधारणसभाबाट पारित गर्ने पनि जोशीले जानकारी दिए । आइसीसीको चुनावमा साधारण सदस्यले अनलाइनमार्फत मतदान गर्ने पनि बताए ।
अनलाइन र भौतिक उपस्थितिमा अक्टोबर १९ तारिखमा भएको निर्वाचनको मत परिणामलाई लिएर अहिले पनि विवाद भइरहेका बेला जोशी समूहले भने अब अनलाइन मतदान प्रक्रियालाई नै प्राथमिकता दिने तयारी गरेको हो ।