अमेरिकामा लेखियो नेपाली भाषामा ‘बुद्धधर्म र दर्शनको’ किताब

Getting your Trinity Audio player ready...
|
न्यूयोर्क । विदेश भ्रमणमा निस्किदा धर्मगुरु दुङ्जिन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपालाई उत्साह र निराशा सँगसँगै आइलाग्यो । भगवान बुद्धको अनुयायी बनेर त्यसको प्रचारमा हिडेका योल्मोपालाई उत्साह यस कारणले बताउथ्यो कि ‘म’ बुद्ध जन्मेको मुलुक नेपालको हुँ । विदेशिहरुले उच्च सम्मान गर्ने । ओहो बुद्धभूमि लुम्विनि ?
त्यही विदेशी मुलुकमा जव उनले नेपाली भेट्थे अनि एक प्रकारको निरासा अझ भनौं छटपटी, कारण अधिकांस नेपाली जसलाई उनले सँधै हतार र रफ्तारमा देखे । भविश्यको सुखको आशमा वर्तमानमा चरम दु:ख र तनाव बेहोर्नेहरुको लर्को ।
विदेशमा उनले भेटेका धेरै नेपालीले मान्ने धर्म बौद्ध थियो । बौद्ध धर्मकै अनुयायी नभए पनि बुद्ध प्रति आश्था राख्ने नेपाली त भइहाल्ने । ‘तर उनीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने बाहेक अन्य ज्ञान नै छैन ।’ योल्मोपालाई लाग्यो ।
‘अमेरिका आए पछि धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरु सँग भेट भयो, तपाइ के धर्म मान्नु हुन्छ भन्दा बौद्ध भन्ने तर त्यही मान्छेलाई बुद्ध भनेको के हो ? केलाई बुद्धत्व भनिन्छ भन्दा ‘मलाई थाहा छैन’ भन्ने जवाफ आउने ।’ उनी आफ्नो अनुभव सुनाउदै थप्छन,’ नेपालीलाई बुद्ध नेपालमा जन्मएको हो भन्ने मात्र थाहा छ, बुद्धको दर्शनको बारेमा थाहा छैन ।’
यो समस्या नेपालमै रहने नेपालीका लागि पनि हो । योल्मोपाले त्यसो हुनुको कारण पनि पत्ता लगाए । अध्ययन गर्ने सामाग्री । मान्छेले अध्ययन नै गर्न नपाए पछि बौद्ध दर्शनबारेमा थाहा पाउने कसरी ? यस्तो हुदाँ मान्छेहरुले संस्कार संकृति नै भूल्ने भए । दु:ख माथि दु:ख पाएका छन् । तनाव लिएका छन् ।
‘मान्छेले सुख खोज्छ आनन्द खोज्छ तर उसले कुरा नबुझ्दा झनझन् दु:खमा फस्छ । त्यसको उपाय भगवान बुद्धले दर्शनमा बताउनु भएको छ ।’ तर त्यो कुरा मान्छेलाई थाहै छैन् उनको मनमा लाग्यो ।
सम्पर्कमा आएका व्यक्तिले पनि गुनासो गरे । पढ्ने पुस्तक नै छैन । ‘बुद्ध धर्म दर्शनका कुरा जति छन् कि संस्कृतमा कि साम्बोटा लिपि अन्तर्गत तिब्तियन भाषामा । यी दुबै भाषामा आम नेपालीभाषीको पहुँच छैन ।’
पत्रपत्रिकामा आउने फुटकर रचना र बौद्धसभामा हुने प्रवचन बाहेक बुद्ध दर्शन सरल नेपाली भाषामा लिपिवद्ध एउटै किताबमा छैन । त्यसो हो भने अब किन नलेख्ने ? त्यो काम मैले नै किन नगर्ने ? यी प्रश्नले योल्मोपाको मनमा डेरा जमायो ।
‘सरल नेपाली भाषामा लेखिएको समग्र बुद्ध धर्म दर्शनका एउटै किताब अब म लेख्छु’ योल्मोपाले अठोट गरे । त्यही बेलामा विश्वलाई नै त्राही त्राही पार्ने गरि कोरोना भाइरसको आतंक शुरु भयो । हजारौ जीवन वर्वाद भए । घरघरमा रुवाबासी चल्यो ।
विश्वव्यापि लक डाउन भयो, सबै घर भित्र कैद, मान्छेमा छटपटी तर योल्मोपा शान्त भए । यही मौकाको हो सदुपयोग गर्ने । अनि उनले शुरु गरे लेख्न र अहिले ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक नेपाली भाषामा लेखिएको किताब बजारमा आएको छ ।
‘पुस्तकले बुद्ध भनेको केहो ? बुद्धधर्म र दर्शन भनेको केहो ? यो दर्शन प्राणी जगतका लागि किन उपयुक्त छ ? भन्ने विययमा नेपाली भाषामा बुझ्न सकिन्छ ।’ योल्मोपाको दावी छ ।
गत सप्तान्तमा न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालका लागि स्थायी प्रतिनिधि राजदुत अमृत राईद्वारा किताबको विमोचन गराए । प्रकाशनमा पनि दाताहरुको सहयोग पाएका योल्मोपाको सो किताब विमोचन कार्यक्रमलाई तामाङ सोसाइटी अफ अमेरिका, गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका र कर्मापा श्यामारनाग् संघले सघाएका थिए ।
तीन सय ८१ पेजको पुस्तक दश हजार प्रति छापिएको छ । पुस्तक निशुल्क पाइने छ । ‘विश्वमा बसेका नेपालीले बुद्ध दर्शन बारे आफ्नै भाषामा बुझुन भनेर मैले लेखेको हुँ, त्यसकारण यो निशुल्क हो।’ योल्मोपाले भने ।
विश्वमा रहेका सबै नेपाली दुतावसको पुस्तकालयमा पनि ४-५ प्रति किताव राख्ने कार्यक्रम छ । उनले भने । यस्तै लुम्विनी बौद्ध विश्वविद्यालय अन्तर्गत रहेका बुद्धिजम पढाउने शैक्षिक संस्थाका विद्यार्थीका लागि यो पुस्तक उपयोगि छ ।’ डाक्टर रमेश कुमार ढुङ्गेल र लोतावा पुण्य प्रसाद पराजुलिका चेला रहेका योल्मोपाले दावी गरे ।
फोटोहरु : इन्द्र तामाङ