महिला विश्वकप फुटबल क्वाटर फाइनलका खेलहरू शुक्रवारदेखि
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत शुक्रवार देखि क्वाटर फाइनलका खेलहरू हुने छन् । क्वाटर फाइनल खेल स्पेन र नेदरल्यान्ड्स,जापान र स्विडेन, अस्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्बियाबिच हुनेछ ।
११ अगस्ट अर्थात् शुक्रवार स्पेन र नेदरलन्ड्स तथा जापान र स्विडेनबिच खेल हुनेछ । १२ अगस्टमा अस्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्बियाबिच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।
त्यस्तै,१९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो ।
सन् १९९१ देखि सुरु महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागी थियो । चार वर्षअगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको सङ्ख्या २४ पुगेको थियो । अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने महिला विश्वकपको नवौँ संस्करणमा पुरस्कार राशि पनि बृद्धि गरिएको छ । झन्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
महिला विश्वकपको पहिलो संस्करण सन् १९९१को नोभेम्बर १६ देखि ३०सम्म चीन, दोस्रो १९९५ जुन ५ देखि १८सम्म स्विडेन, तेस्रो १९९९ जुन १९ देखि जुलाई १० सम्म अमेरिका,चौथो २००३सेप्टेम्बर २० देखि अक्टोबर १२ सम्म अमेरिकामा भएको थियो । त्यस्तै, पाँचौँ संस्करण सन् २००७ सेप्टेम्बर १० देखि ३०सम्म चीन, छैटौँ २०११ जुन २६ देखि जुलाई १७ सम्म जर्मनी, सातौँ २०१५ जुन ६ देखि जुलाई ५ सम्म क्यानडा र आठौँ २०१९ जुन ७ देखि जुलाई ७ सम्म फ्रान्समा भएको थियो ।














