नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्र किन चाहियो ?
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले सरकारको सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुक्त नभएको भन्दै सुशासन कायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित रहेको बताए ।
उनले प्रधानमन्त्रीले पार्टीको नेताहरुसँग बैठक नराखेर आएको निर्देशन मात्र पालना गर्न बसेको भन्दै आपत्ति जनाए । उनले भने, सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता नारामा मात्र सीमित हो ? सीमा दरबार आफ्नै सुशासन र भ्रष्टाचारबाट मुक्त नभएको जनताको गुनासो छ । प्रधानमन्त्रीले खासै पार्टीको बैठक राख्नु भएको छैन् । उहाँ कतैबाट आएको निर्देशन मात्र पालना गर्ने भनेर मात्र बस्नुभएको जस्तो छ । पार्टीको पनि बैठक राख्नुपर्छ । ’
सांसद सुवालले राष्ट्रिय परिचय पत्र आवश्यक नरहेको भन्दै त्यसमा भएको अरबौं रकम कटौती गर्नु पर्ने टिप्पणी गरे । उनले भने,‘राष्ट्रिय परिचय पत्र किन ?नागरिकता छ त अरु परिचय पत्र धेरै छ । गृह मन्त्रालीलाई यस्तो वुद्धि कहाँबाट आयो ? अरब खर्च हुने गरि।’ रक्षा मन्त्रालयमा देशको सीमा सुरक्षा नेपाली सेनालाई दिनुपर्ने उनको भनाई छ ।
सीमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाई औद्योगिक क्षेत्रमा राखिएकोमा आपत्ति जनाउदै उनले भने,‘सिमानामा सुरक्षा गर्न खटाउनुपर्ने सुरक्षाकर्मीलाई गृह मन्त्रालयले काठमाडौं उपत्यकाको औधोगिक क्षेत्रहरुमा राख्नु उचित हो र ? सीमाना मिचिदै छ । शहरको बीचमा सुरक्षाकर्मी?। ’














