कांग्रेस महाधिवेशनको बैधतामा प्रश्न : रद्द हुन सक्छ मतदान

अमेरिका । विदेशको नागरिकता लिएका व्यक्तिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भोट हाले पछि प्रवासमा दुई प्रकारका बहस शुरु भएका छन् ।
समाजिक सञ्जालमा आन्तरिक वा बाह्य रुपमा बहस गर्नेले कांग्रेसको महाधिवेशनकै बैधानिकतामा संकट पर्ने दावी गरेका छन् । यस्तै अर्को एक पक्षले महाधिवेशनमा मतदान गर्नेहरुलाई सम्वन्धित देशमा पुगे पछि कानुनी झमेला हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।
के विदेशको नागरिकता लिएको ब्यक्तिले नेपालमा मतदान नै गर्न नपाउने हो ? अमेरिकामा लामो समय देखि वकालत पेशामा रहेका कानुन व्यवसायी खगेन्द्र जिसी यसको व्याख्या अदालतले नै गर्नु पर्ने बताउछन् ।
नेपालको संविधान निर्माण गर्दा गैरआवासीय नेपालीको पक्षमा वकालत गर्ने मध्येका एक जिसी भन्छन्, ‘संविधानले गैर आवासीय नेपालीलाई राजनैतिक बाहेकको अधिकार दिने भनेको छ, त्यो भनेको आम निर्वाचनमा भाग लिन नपाउने भन्ने हो, राजनीतिक पार्टीको आन्तरिक कुरालाई कसरी लिने त्यो बहसको विषय हो ।’
संविधानमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि त्यस सम्वन्धी कानुन बनि सकेको छैन । नयाँ कानुन नबन्दा सम्म पुरानै कानुन लागु हुने हुदा अहिले सम्म विदेशको नागरिकता लिनेले गैर आवसासिय नागरिकता लिन पाएका छैनन् । त्यस कारण आफ्नै जन्मभूमि जादा पनि भिषा लिएर जानु पर्ने हुन्छ ।
‘आम निर्वाचन बाहेक अन्य संघ सस्थाको निर्वाचनमा भागै लिन नपाउने भनेर संविधानले तोकेको छैन ।’ जिसी भन्छन् । ‘नेपालमा नै दर्ता भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) छ । सबै कुरा संविधानमा लेखिएको हुदैन संघ -सस्था र राजनैतिक पार्टीहरुको आन्तरिक विधान पनि यस्तो अवस्थामा आकर्शित हुन्छ ।’
कांग्रेसको विधानमा सदस्य हुनका लागि नेपाली नागरिक हुनु पर्ने भनेको छ । यस्तै कांग्रेसको विधानमा जनसम्पर्क समितिको सदस्य हुनका लागि एक बर्ष विदेश बसेको,नेपाली नागरिक र नेपाली राहदानी बोकेको हुनु पर्ने उल्लेख छ । गैर आवासीय नागरिकता विदेशको राहदानी बोकेका नेपालीहरुका लागि कल्पना गरिएको हो ।
कांग्रेसको निर्वाचन समितिले पनि यस पटक नेपाली राहदानीमा यात्रा गरेको अनिवार्य देखाउनु पर्ने भनेर आन्तरिक निर्देशन जारी गरेको थियो । कांग्रेसको विधान अनुसार प्रतिनिधि छनौट नभएको भन्दै गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा विचाराधिन छ ।
अव विदेशि राहदानी बोकेको व्यक्तिले मत दिएको महाधिवेशनको वैधताको ब्याख्या अदालतको फैसलामा निर्भर हुने भएको छ । विधान विपरित भएको भन्दै अदालतले महाधिवेशन रद्दको फैसला गरेमा कांग्रेस संकटमा पर्न सक्छ ।
यस्तै दोहोरो नागरिकताको माग गरि रहेका एनआरएनहरुका लागि पनि सो मुद्दाले असर गर्ने छ । यदी अदालतले कांग्रेस महाधिवेशनको बैधता पुष्टि गर्यो भने अर्को पटक देखि विदेशको राहदानी बोकेकाहरु पनि हाकाहाकी महाधिवेशनमा भाग लिन पाउने छन् । नेपाली राहदानी अनिवार्य गरिएकै कारण ठूलो जमात यस पटक छुटेको हो ।
यस्तै अमेरिकाको नागरिकता लिएको व्यक्तिले नेपालमा भोट हाल्दा व्यक्ति स्वयमलाई अमेरिकी कानुन अनुसार अप्ठेरो नपर्ने जिगिर कानुन व्यवसायी जिसीको छ । ‘अमेरिकाले दोहोरो नागरिकता स्वीकार गरेको छ, अरु कारण उजुरी भए छुट्टै हो, नेपालमा गएर भोट हालेको कुरामा अमेरिकी कानुन आकर्षित हुदैन ।’
(यो पनि हेर्नु होस)
कांग्रेस महाधिवेशन : विदेशि नागरिकता लिएका दर्जन भन्दा बढीले हाले भोट
विदेशि नागरिकले पनि गरे कांग्रेस महाधिवेशनमा मतदान, जनसम्पर्क समितिको वदमासी