एक घण्टा लागाएर मतदान गरेर फर्केका देउवा फेरि किन छिरे मतदान स्थल ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान क्षेत्रको अवलोकन गरेका छन् ।सभापतिका उम्मेदवारसमेत रहेका उनी आफूले मतदान गरेको केही समयपछि फेरि मतदानस्थलमा प्रवेश गरेर अवलोकन गरेका हुन् ।
अवलोकनपछि उनी केहीबेर मतदानस्थल अगाडि बसेर आराम पनि गरेका थिए ।कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।
देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।यस अगाडि देउवालाई मतदान गर्न झन्डै एक घन्टा लागेको थियो । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए ।
उनलाई मत हाल्न पौने घन्टा लागेको थियो ।नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।