प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अनिश्चित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अनिश्चित बनेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका लागि ग्रिन सिग्नल नदिँदा तत्काल भारत भ्रमण नहुने भएको छ ।
प्रचण्डले प्रधानमन्त्री बने लगतै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए ।
आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्न उनले यसअघि चीनको हेनान प्रान्तमा गत चैत्रमा भएको बोआओ फोरममा भाग लिन गएनन् ।
नेपालस्थित चिनियाँ दूतावासले बोआओ फोरममा सहभागी हुन ८ फागुन २०७९ मा प्रधानमन्त्री दाहाललाई भ्रमणको औपचारिक निमन्त्रणा दिएको थियो । तर, प्रचण्डले अन्तिम समयमा आएर चीन भ्रममा नजाने सन्देश पठाए ।
दाहाल प्रधानमन्त्री भएको चार महिना बितिसकेको छ । तर, भारत भ्रमणको औपचारिक निम्तो उनले अझै पाउन सकेका छैनन् । यसअघि वैशाखको अन्तिम साता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुने भनिए पनि हाल भारतीय विदेशमन्त्री एस जयशंकर विदेश भ्रमणमा छन् । यो साताको तेस्रो साता मात्रै उनी भारत भ्रमण फर्कने कार्यतालिका छ ।
भ्रमणको सबै तयारी मिलाउने जिम्मा पाएका जयशंकर भएका कारण पनि उनी स्वदेश फिर्ता नभएसम्म त्यो सम्भव देखिँदैन । साथै भारतको कर्नाटकमा हुन लागेको चुनावमा प्रधानमन्त्री मोदी व्यस्त भएका कारण पनि तत्काल प्रचण्डलाई भारत भ्रमणका लागि निमन्त्रणा गर्ने सम्भावना छैन । वैशाख महिनामा दाहालको भारत भ्रमण नहुने भएको छ । त्यसपछि पनि भारतीय प्रधानमन्त्रीले आफू अनुकूल अवस्था हेरेर मात्रै भारत भ्रमणको निम्तो दिन सक्नेछन् ।
यता प्रचण्डले पनि भारत भ्रमणको टुंगो छिटो लगाउनकै लागि नेपालमा परराष्ट्रमन्त्री एनपी साउदलाई दिइसकेका छन् । नेपालबाट प्रधानमन्त्री दाहालको भ्रमणका लागि सबै तयारी भइसके पनि भारतले ‘ग्रिन सिग्नल’ नदिँदा भ्रमण अनिश्चित बनेको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।