नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले नेपालमा उत्पादन भएका सवारी साधान दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।
सवारी साधन दर्तासम्बन्धी समस्या रहेको चर्चा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यस विषयमा चासो देखाउँदै दर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरू संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने तयारी गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग आज छलफल पनि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यस्तै, सचिव पाण्डेका अनुसार नेपालमा उत्पादित सवारी साधन दर्ताका लागि ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४’ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषद्मा पेस गर्ने व्यवस्था मिलाइनेछ ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानून मन्त्रालय, यातायात विभाग, विद्युतीय सवारी साधन ‘यात्री’ का पदाधिकारीको उपस्थिति थियो ।