केही दिनभित्रै समाजवादी मोर्चा गठन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा नेकपा एकीकृत समाजवादीद्वारा आइतबार आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् ।
‘सही विचार र नीतिका आधारमा कम्युनिस्टहरूलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौं । जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौं,’ प्रचण्डले भने । उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुवीकरणमै अगाडि बढ्ने बताए ।
अध्यक्ष प्रचण्डले आफूहरू राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरूसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे ।
‘कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्यो भने धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं,’ उनले भने ।
उनले ०७४ को आम निर्वाचन कम्युनिष्टहरूले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरूले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए ।
‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविकाका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ,’ उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रूपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिस्टहरूलाई आह्वान गरे ।
‘एकतावद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमानदार हुन सक्छौं । अहिले हामी कम्युनिस्ट पार्टीहरू कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं । अहिले राष्ट्रको आवश्यकता, राष्ट्रियता, जनतन्त्र जनजीविकाका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरू सबै एउटा मोर्चामा आवद्ध भएर एउटा सन्देह दिऔँ, अध्यक्ष प्रचण्डले भने ।