बारा २ मा कांग्रेसले उपेन्द्रलाई सघाउने
काठमाडौं । नेपाली काँग्रेसले बारा –२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव उठ्दै छन् । जसपामा यादवको नाम सर्वसम्मतले पास भएको थियो । त्यस्तै, चितवन २ मा हुने उपनिर्वाचन काँग्रेसले जीतनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । त्यस्तै तनहुँ १ मा गोविन्द्र भट्टराईलाई उठाउने निर्णय गरेको छ । तीनै ठाउँमा सत्तारुढ गठवन्धन पक्षबाट साझा उम्मेदवार रहेको काँग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले बताए ।
उनले भने,‘बैठकले १० वैशाखमा हुने उपचुनावका लागि गठबन्धनबाट साझा उम्मेद्वार उठाउने र बारा दुईमा जसपालाई समर्थन गर्ने निर्णय गरे छ । तनहुँ र चितवनमा भएका उम्मेद्वार पनि साझा हुन् । जसपाले बारामा उठाएको उम्मेद्वार पनि साझा नै हो ।’
बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरेको छ । उनी पार्टी अध्यक्ष सहित मतदाताको घरघरमा पुग्न थालेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई उम्मेद्वार बनाएको छ भने लोसपाबाट राजेन्द्र महतोको चर्चामा छ । एमालेले बारा २ मा भने निर्णय गरिसकेको छैन ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको हो ।
आइतवार बिहान १० बजेदेखि बसेको बैठकले सरकारमा जान बाँकी चार मन्त्रीको नाम टुङ्याउने भनिएको थियो । तर, बैठकको एजेन्डामा उक्त विषयले प्रवेश नै पाएन । काँग्रेस सहमहामन्त्री पाण्डेले कार्यसम्पादन समितिको बैठकमा मन्त्रीको नामावली टुङ्ग्याउने बिषयमा कुनै छलफल नभएको बताए । काँग्रेसले पाएको आठ मन्त्रालय मध्ये चारमा भने मन्त्री पठाइसकेको छ ।














