अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् ।
रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् ।
‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’ उनले भने ।
यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ ।
उनले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको टीप्पणी गरे ।
‘हामी पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै यहि हो लोकतन्त्र भनेर परिभाषा गरिरहेका छौं । परम्परागत अथवा पुराना पार्टीहरुमा टिकटको किनबेच हुने । हामीलाई यस पार्टीको टिकटमा हाम्रो पार्टीमा सभापतिको कुनै हस्तक्षेप भएन ।
हामी प्राइमरी प्रक्रियाबाट सम्बन्धीत क्षेत्रका सदस्यले छानेर बकाईदा प्रतिस्पर्धाबाट छानिएर आयौं अन्य पार्टीमा टिकट होडबाजी किनबेच हुन्छ ।
वाग्लेले जेलनेलको भत्ता खाने होइन डेलिभरी दिने समय आएको बताउँदै अहिले रास्वपाकोे अभियान त्यसैको संकेत रहेको बताए ।
उनले खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा नीतिमा भन्दा पनि आफ्नो लगानि उठाउँने तिर ध्यान जाने टिप्पणी गरे ।
राजनीतिमा आएको फेरबदललाई नेपालले आफ्नो हितमा सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।