आगामी बजेटमा सुकुम्बासी व्यवस्थापन पहिलो प्राथमिकता हुनेछ : मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राख्न आगामी बजेट निमार्ण गर्ने बताएका छन् ।
शनिबार जनकपुरधामस्थित जनकचोकमा आमरण अनसनमा बसेका चुरे तथा वनजंगल संरक्षण अभियान्ता सुनिल यादवको मागप्रति मधेस सरकारले गम्भीर रुपमा काम गर्ने यादवको भनाई छ ।
यादवले चुरे तथा वनजंगल संरक्षण अभियानका मांग र समस्याहरुलाई समाधान गर्न एक हप्ता भित्र छलफल समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रदेश सभाबाट भूमी सम्बन्धी विधेयक ल्याएर प्रदेशका सम्पूर्ण भूमीहिन सुकुम्बासी र चुरे बनजंगल संरक्षणको समस्या समाधान गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
उनको प्रतिबद्धता पश्चात चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले आमरण अनसन तोडेका छन् । चुरे अभियानीहरु विगत ३७ दिनदेखि जनकपुरधामको जनकचोकमा रिले अनसन बस्दै आएकोमा कुनैपनि निकायले सुनुवाई नगर्दा संयोजक यादवले शुक्रबारदेखि आमरण अनशन सुरु गरेका थिए ।