माओवादी हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद : ओली

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनकै भाषामा माओवादी हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दुखद भएको टिप्पणी गरेका छन् ।
बिहीबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास बालकोटमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले‚ जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा बनाउने सरकारको निर्णय सही नभएको बताएका हुन् ।
हिंसा दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णय दुखद भएको उनको टिप्पणी छ ।
‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी छ जस्तो देखिन्छ ।’ ओलीले भने, ‘अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मान्ने भनेर क्यालेन्डरमा समेत राखेर दुखद निर्णय गर्यो ।’
ओलीले सरकारले आकश्मिकरुपमा त्यो किन गर्नुपरेको हो ? भनेर प्रश्न गरे।
‘आफैँले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्यो ? मैले पनि बुझेको छैन यसले सम्झी नसम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झीएजस्तो मात्र लाग्छ मलाई।’
उनले अब नेपाल हिंसाको पक्षमा हुन नसक्ने टिप्पणी गर्दै परस्परमा लड्ने – लडाउने कुरा स्वीकार्न गर्न नसकिने पनि बताए ।