दोस्रो संस्करणपछि एनएसएल र एन्फाबीचको सम्झौता खारेज हुने
रमेश सुवेदी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी (एनएसईएम) बीच भएको सम्झौता खारेज हुने भएको छ ।
एनएसएल प्रतियोगिता आयोजना र अस्तित्वलाई लिएर सहिद स्मारक ए डिभिजन लिगका चार क्लबले प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय आठ र त्यसपछि चार क्लबले पत्रकार सम्मेलन नै गरेर एन्फालाई विवाद समाधान गर्न आग्रह गरेका थिए ।
त्यसपछि गठन भएको विवाद समाधान कार्यदलले दोस्रो संस्करणको प्रतियोगिता समाप्तिसँगै दश वर्षका लागि भएको सम्झौता स्वतः खारेज हुने निर्णय गरेको हो ।
दोस्रो संस्करण प्रतियोगिताअघि नै एनएसएल क्लबले आफ्ना खेलाडीलाई विनाअनुमति खेलाडी अनुबन्ध गरेपछि ए डिभिजन क्लब असन्तुष्ट रहँदै आएका छन् । यस्तै एन्फाले एनएसएल क्लबलाई सिधै फिफा र एएफसी प्रतियोगिता खेल्न पाउने बुँदा राखेपछि क्लबहरुले असन्तुष्ट जनाउँदै आएका थिए ।
विवाद समाधान कार्यदलको बुधबारको बैठकले प्रतियोगिता सम्पन्न भएसँगै सम्झौता स्वतः खारेज हुने निर्णय गरेको छ । यसअघि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसईएमबीच प्रतियोगिता आयोजना गर्न १० वर्षे सम्झौता भएको थियो ।
एन्फाले २० फागुनमा भएको खेलाडी अक्सन रोक्न निर्देशन दिएको थियो । तर, निर्देशन मिचेरै एनएसएलको अक्सन भएको थियो । त्यसका लागि एन्फाले स्पष्टीकरणसमेत मागेको थियो । उक्त स्पष्टीकरण बुझाएसँगै एनएसएल आयोजनाको स्वीकृतिसहित कार्यदलले बुधबार चार निर्णय गरेको छ ।
एन्फाको यो निर्णयसँगै अब, एनएसएल एक मोफसल प्रतियोगिता झै संचालनमा आउनेछ ।
कार्यदलले गरेको निर्णय
१, आसन्न प्रतियोगिताको समाप्तिसँगै एन्फा र एनएसएलबीचको सम्झौता स्वतः रद्द हुने
२, २५ चैतदेखि प्रतियोगिता सञ्चालन गर्न समय दिने
३, एनएसएलका लागि खेलाडी सरुवा क्लबबीच आपसी समझदारीमा गर्न दिने
४, खेलाडी तथा क्लब दर्ता एन्फाले नगर्ने र प्राविधिक सहयोग मात्रै