पेन्सिल्भेनिया ल्यान्कास्टरमा नयाँ वर्ष २०८३ को भव्य स्वागत,सांस्कृतिक कार्यक्रममा शुभ कामना साटासाट
ल्यान्कास्टर, पेन्सिल्भेनिया / नयाँ वर्ष २०२८३ लाई अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा भव्य स्वागत गरिएको छ ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनिया (ल्यान्कास्टर) को आयोजनामा शनिबार साँझ नेपाली नयाँ वर्ष २०८३ उल्लासपूर्ण वातावरणमा मनाइएको छ।
स्थानीय ताज महल रेस्टुरेन्टको हलमा आयोजित कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात बालबालिकाहरूले नेपालको राष्ट्रिय झण्डा बोकेर “सयौँ थुँगा फूलका हामी…” नेपाली राष्ट्रिय गान गाएर गरिएको थियो।
नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने गरी विभिन्न जातजातिका पहिरनमा सजिएका बालबालिकाहरूले विशेष आकर्षण थपेका थिए। उनीहरूको सहभागितामा फेसन सोसमेत प्रस्तुत गरिएको थियो।
संस्थाकी अध्यक्ष सृजना पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष अञ्जलिका (मन्जु) श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाका गतिविधिमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा बालबालिकाहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने डा. बन्धु पोखरेलले नयाँ वर्षको अवसरमा आफ्नै गीत प्रस्तुत गरेका थिए। सहभागीहरूले नेपाली स्वादका परिकारको समेत स्वाद लिएका थिए।
कार्यक्रमको अन्त्य डिजे पार्टीसहित गरिएको थियो, जहाँ उपस्थित सबैले एक अर्कामा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका थिए।
एसोसिएसनले पछिल्ला केही वर्षदेखि नयाँ वर्ष, तीज, दशैं र तिहारजस्ता पर्वहरूमा नियमित रूपमा कार्यक्रम गर्दै आएको छ।
यस वर्षको कार्यसमितिले यसअघि स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ भने आगामी दिनमा फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी पनि गरेको जनाएको छ।
















