ह्यारिसबर्ग प्रिमियर लिग २०२६ को ड्राफ्ट डे भव्य रूपमा सम्पन्न
९६ खेलाडी चार टोलीमा विभाजन, युवा विकास र सामुदायिक एकतामा जोड
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / क्रियमाण फाउण्डेशनको आयोजनामा ह्यारिसबर्ग प्रिमियर लिग (एचपीएल) २०२६ को ड्राफ्ट डे कार्यक्रम आइतबार, अप्रिल ५ मा डिस्का हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कुल ९६ जना खेलाडीहरूलाई चार टोली— सस्केहाना टाइटन्स, लिबर्टी वारियर्स, ह्यारिसबर्ग थन्डरहक्स र क्यापिटल स्ट्राइकर्स—मा ड्राफ्ट गरिएको थियो।
ड्राफ्ट डेमा समुदायका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूले आ-आफ्नो टोलीको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।
उनीहरूले खेलाडीहरूलाई शुभकामना दिँदै लिगले युवा प्रतिभा विकास र सामुदायिक एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
टोली प्रतिनिधित्व तथा शुभकामना व्यक्त गर्नेहरूमा क्यापिटल स्ट्राइकर्सका यधु प्रसाद आचार्य र बन्धु अधिकारी, ह्यारिसबर्ग थन्डरहक्सका टीका ढुंगाना, सस्केहाना टाइटन्सका प्रजित राना, प्रताप मगर र लिबर्टी वारियर्सका विनय लुइटेल, रोबिन गुरुङ, युराज कोइराला थिए ।
ड्राफ्ट डे पश्चात् अप्रिल १२ मा आयोजित क्याप्टेन मिटिङमा प्रत्येक टोलीले आफ्नो कप्तान र उपकप्तान चयन गरेका छन्।
टोलीका कप्तान तथा उपकप्तान :
क्यापिटल स्ट्राइकर्स: कप्तान — तारा कौशिक, उपकप्तान — सागर राई
सस्केहाना टाइटन्स: कप्तान — कैलाश मगर, उपकप्तान — सागर आचार्य
लिबर्टी वारियर्स: कप्तान — नारायण गौतम, उपकप्तान — भगत भण्डारी
ह्यारिसबर्ग थन्डरहक्स: कप्तान — अनिल न्यौपाने, उपकप्तान — तारा अधिकारी

कार्यक्रमका क्रममा सार्वजनिक स्वास्थ्य कार्यक्रम निर्देशक लीला चम्लागाईंले #PlayForLife अभियान अन्तर्गत मानसिक स्वास्थ्य, डिप्रेसन तथा आत्महत्या सम्बन्धी विषयमा सचेतनामूलक प्रस्तुति दिँदै “९८८” लाई “९११” जत्तिकै सहज रूपमा सम्झन र प्रयोग गर्न सकिने बनाउनुपर्नेमा जोड दिइन्।
यसै अवसरमा ह्यारिसबर्ग प्रिमियर लिगका व्यवस्थापक सुक तामाङले ह्यारिसबर्ग क्रिकेट एलायन्सका पुराना तथा नयाँ सदस्यहरूको चासो र समर्थनप्रति आभार व्यक्त गर्दै दोस्रो सिजन सफल बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताए। उनले खेलाडीहरूलाई व्यवस्थापनमा स्वयंसेवकका रूपमा सहभागी भई लिगलाई थप सशक्त बनाउन आग्रह गरे।
क्रियमाण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष भरत तिम्सिनाले भने,
“ह्यारिसबर्ग प्रिमियर लिग स्थानीय खेलकुद प्रवर्द्धन, युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने र समुदायभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।”
कार्यक्रममा दोस्रो सिजनका मुख्य प्रायोजक गोल्डेन होम केयर एलएलसीलाई विशेष धन्यवाद दिइयो। साथै, कार्यक्रम स्थल उपलब्ध गराएकोमा सेन्सी रन राईप्रति आयोजकले आभार व्यक्त गरे।
आयोजकका अनुसार, क्रिकेट मैदानको अभावका कारण स्थानीय खेलाडीहरूले अभ्यासमा कठिनाइ भोग्दै आएका छन्। एचपीएलले सबै खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई अनुभव आदानप्रदान तथा सीप विकास गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
ड्राफ्ट डे सफलतापूर्वक सम्पन्न भएसँगै ह्यारिसबर्ग प्रिमियर लिग २०२६ का खेलहरू अप्रिल २० देखि लिङ्गल पार्क क्रिकेट मैदानमा सुरु हुनेछन्।
















