यूएसए कराते ओपन: विश्वस्तरको मञ्चमा नेपालीभाषी अफिसियलहरूको उचाइ
टेक्सस, फोर्थवर्थ / अप्रिल २ देखि ५ सम्म टेक्ससको फोर्थवर्थमा सम्पन्न यूएसए कराते ओपन एण्ड जुनियर इन्टरनेशनल कप केवल एउटा प्रतियोगिता होइन—यो अमेरिकी करातेको “महाकुम्” जस्तै हो, जहाँ विश्वभरका उत्कृष्ट खेलाडी र अफिसियलहरू भेला हुन्छन्।
विश्व करातेका प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिने यो मञ्चमा उभिनु धेरैका लागि सपना नै हो—चाहे खेलाडी होस् वा रेफ्री/जज।
भलै अघिल्लो वर्ष मात्रै ४५ देशका ३६ सय भन्दा बढी खेलाडी सहभागी भएको यो प्रतियोगिता यसपटक करिब ११ सयमा झरेको थियो । तर पनि यसको स्तर, प्रतिष्ठा र प्रतिस्पर्धात्मकता भने कुनै पनि हिसाबले कम भएको छैन। यहाँ सहभागी हुनु आफैंमा अन्तर्राष्ट्रिय कराते समुदायमा आफ्नो उपस्थिति दर्ज गराउनु हो।
यस पटकको प्रतियोगिता केवल प्रतिस्पर्धात्मक खेल मात्र नभई नेपालीभाषी समुदायका लागि गौरवको क्षण पनि बन्यो।
ठूलो मञ्चमा नेपाली भाषीको बाक्लो उपस्थिति
यति ठूलो प्रतियोगितामा नेपाली र नेपाली भाषी भुटानी समुदायबाट करिब ४० खेलाडी र १४ जना अफिसियल (रेफ्री/जज) को उपस्थिति उल्लेखनीय रह्यो। करिब एक सयको हाराहारीमा रहेका अफिसियलमध्ये एक दर्जनभन्दा बढी नेपाली भाषी हुनु केवल संख्या होइन, यो समुदायको निरन्तर प्रगति र प्रभावको संकेत हो।
यो उपस्थितिले देखाउँछ कि नेपाली समुदाय अब केवल सहभागितामै सीमित छैन, निर्णय गर्ने तहमा पनि सशक्त रूपमा उभिएको छ।
सहभागिताको कठिन बाटो
अमेरिकामा दुई दशक देखि करातेमा लोभलाग्दो पहिचान बनाएका सिहान शान्त थोकरका अनुसार यस्तो मञ्चमा पुग्नु सजिलो छैन।

‘रेफ्री/जज बन्ने प्रक्रिया लामो र चुनौतीपूर्ण छ । वार्षिक सदस्यता र नवीकरण, सेमिनार तथा प्रशिक्षणमा अनिवार्य सहभागिता । लाइसेन्सिङ परीक्षा, पृष्ठभूमि जाँच, निरन्तर अभ्यास र मूल्यांकन सबै चाहिन्छ ।’ टेक्ससमै समाज टाइम्स सँगको कुराकानीमा उनले भने।
थोकर थप्छन, ‘यी सबै चरण पार गरेपछि मात्र अफिसियलहरूले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा काम गर्ने अवसर पाउँछन्। आर्थिक, समय व्यवस्थापन र व्यक्तिगत समर्पण—सबै पक्षमा सन्तुलन मिलाउनुपर्ने हुन्छ।’
हालै मात्र विश्व कराते महासंघ डब्लुकेएफबाट काता जज लाइसेन्स प्राप्त थोकर अमेरिकामा कराते स्कूल स्थापना गर्ने पहिलो नेपाली पनि हुन । उनले सन् २००७ मा न्युयोर्कमा कराते स्कूल खोलेका थिए। अहिले अमेरिकमा नेपाली र नेपाली भाषी भूटानी समुदायका एक दर्जन बढी कराते स्कूल छन् ।
“संख्याभन्दा गुणस्तर”
सन् २००७ ताका यूएस ओपनमा शान्त थोकर सहित चार–पाँच जना मात्रै नेपाली अफिसियल सहभागि हुन्थे ।
‘त्यो बेला न समुदायको साथ, न पर्याप्त स्रोत, तर थियो केवल एउटा अठोट।’ उनी सम्झिन्छन् ‘हामीले आफैं बाटो बनाउनुपरेको थियो ।’
‘हामी प्रायः भोलिन्टियर जस्तै हौं। केही भत्ता पाइन्छ, तर मुख्य उद्देश्य सेवा र खेलप्रति समर्पण हो,’ थोकरले भने, ‘यात्रा, बसोबास र अन्य खर्च आफैंले व्यवस्थापन गर्नुपर्ने भएकाले यो क्षेत्र पूर्ण रूपमा समर्पण र लगनशीलतामा आधारित छ।’
आज भने अवस्था बदलिएको छ। ६० भन्दा बढी नेपाली भाषी अफिसियल सक्रिय छन्, र यूएस ओपनजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जनभन्दा बढीको उपस्थिति सामान्यजस्तै बन्न थालेको छ।

यो यात्राको केन्द्रमा छन् शान्त थोकर, जसले २००७ बाट सुरु गरेको अफिसियललाई निरन्तराता दिए ।
उनका अनुसार विगतमा नेपाली अफिसियल खोज्नुपर्ने अवस्था थियो, तर आज प्रतियोगितास्थलमै आफ्नै समुदाय ठोकिन पुग्छन ।
तर उनी एउटा महत्त्वपूर्ण चेतावनी पनि दिन्छन्—
“संख्या बढ्नु राम्रो हो, तर अब क्वालिटी र तयारी अझ महत्त्वपूर्ण छ।”
उनका अनुसार केवल देखासिकी वा प्रतिस्पर्धाको भावनाले होइन, स्पष्ट योजना, शैक्षिक योग्यता र आर्थिक तयारीसहित यो क्षेत्रमा प्रवेश गर्नुपर्छ।

अनुभवको विस्तार: नयाँ पुस्ताको आत्मविश्वास
“पहिला एक्लै हुन्थ्यौं, अहिले आफ्नै भाषा बोल्ने साथीहरूसँग भेटिन्छ। त्यो आत्मीयता नै ठूलो उपलब्धि हो।”थोकर भन्छन ।
अन्य सहभागी अफिसियलहरू पनि यसमा सहमत छन्। उनीहरूका अनुसार नेपाली भाषी समुदायको बढ्दो सहभागिताले नयाँ आउनेहरूलाई सिक्ने, बुझ्ने र अघि बढ्ने वातावरण सिर्जना गरेको छ।
अमेरिकी करातेमा नयाँ पुस्ताले आत्मविश्वासका साथ पाइला चालिरहेको छ। पेन्सिल्भेनियाको कार्लल निवासी राष्ट्रिय रेफ्री तथा जज राज बराल भन्छन्:
“पहिला नयाँ जस्तो लाग्थ्यो, अहिले त घरभित्रै जस्तो हुन्छ।” उनका अनुसार समुदायको विस्तारले आत्मीयता र सहजता दुवै बढाएको छ।

यस्तै ओहायोको कोलम्बस निवासी राष्ट्रिय रेफ्री तथा जज यम विष्ट सुरुवाती डर सम्झिन्छन्:
“गल्ती हुन्छ कि भन्ने डर लाग्थ्यो।”तर अहिले,“कहिले के निर्णय दिनु पर्ने भन्नेमा कन्फिडेन्ट भइसकेको छु।”
पेन्सिल्भेनिया कार्ललकै राष्ट्रिय रेफ्री तथा जज आनन्द थेगिङका लागि अन्तर्राष्ट्रिय खेलाडीबीच निर्णय दिनु गर्वको विषय हो:
“खेलाडीहरू टफ छन्, निर्णय पनि टफ हुन्छ, तर यही सिकाइ हो।”थेगिङ भन्छन् ।
ओहायो निवासी राष्ट्रिय रेफ्री तथा जज यदु कुइकेललाई पनि अब डर हटेको अनुवभ भएको छ।
“२०१९ मा डर थियो, अहिले सजिलै निर्णय गर्न सक्छु।”समाज टाइम्स सँग उनले भने ।
यी सबै अनुभवले देखाउँछ—यो यात्रा अभ्यास, निरन्तरता र सामूहिक सहकार्यबाट सम्भव भएको हो।
माया लेप्चा: संघर्ष, सपनाको प्रेरणादायी कथा

यूएसए कराते यात्रामा सबैभन्दा प्रेरणादायी पात्र हुन् माया लेप्चा । उनी नेपाली भाषी भुटानी समुदायबाट अन्तर्राष्ट्रिय स्तरमा पुगेकी एक मात्र महिला रेफ्री।
सन् २०१६ देखि अन्तर्राष्ट्रिय रेफ्रिमा सक्रिय उनी भन्छिन्:“सुरुमा धेरै नर्भस हुन्थ्यो, तर सिक्दै जाँदा आत्मविश्वास बढ्दै गयो।”
उनका लागि यूएस ओपनजस्तो मञ्चमा रेफ्री हुन पाउनु—“प्राउड मोमेन्ट” हो।
नेपाल स्थित शरणार्थी शिविरबाट सुरु भएको यात्रा, नेपालमा सिकेको कराते, अनि अमेरिका आएपछि निरन्तरता—यी सबैले उनलाई यहाँसम्म ल्याएको हो।
“मेरो सफलताको पछाडि मेरो परिवारको ठूलो साथ छ, विशेषगरी मेरो श्रीमान्,” उनी भन्छिन्।
चार महिनाको बच्चा हुँदा पनि रेफ्रीको अवसर लिन पाएको क्षण सम्झिँदै उनी भन्छिन्—
त्यो समर्थनले नै आजसम्म टिकाइरहेको छ।
उनको लक्ष्य अझ स्पष्ट छ:“एक दिन डब्लुकेएफ रेफ्री बन्ने सपना छ।”
महिलाहरूका लागि उनको सन्देश प्रेरणादायी छ:
“आँट गर्नुभयो भने अमेरिकामा सम्भव छ। समय मिलाएर, योजना बनाएर अघि बढ्न सकिन्छ।”
यूएसए कराते ओपनले देखाएको छ—नेपाली समुदाय अब केवल सहभागी होइन, नेतृत्वतर्फ उन्मुख छ।
शान्त थोकर लगायतले सुरु गरेको दुई दशक लामो यात्रामा आज दर्जन बढीले निरन्ता दिदै आएका छन र उनीहरुको अठौट छ अझै जारी राख्ने अनन्त सम्म ।
राज बराल भन्छन अबको लक्ष्य अन्तर्राष्ट्रिय लाइसेन्स हो ।
‘म सहित यम विष्ट, आनन्द थेगिङ, यदु कुइकेल, तुला ढकाल र विश्वास गुरुङ मे महिनामा ब्राजिल जाँदै छौ जहाँ पान अमेरिकी च्याम्पियनसिप हुदै छ । त्यहाँ अन्तर्राष्ट्रिय जज सी को परीक्षा दिन्छौ ।’
त्यसो त ड्रुक इन्टरनेश्नल सितिरियो कराते डो एसोसिएसन (डिस्का) अध्यक्ष डा. हेमन्त घिसिङ र मायाले पनि ब्राजिलमा अन्तर्राष्ट्रिय जज एको परीक्षा दिने छन्।
टेक्सस, फोर्थवर्थमा चार दिनसम्म चलेको यूएस ओपन कराते प्रतियोगिता सकिँदा नेपाली भाषी समुदायले अनुभव, आत्मविश्वास र समुदायको सान बढाएको छ।
















