ह्यारिसबर्गमा पनि ‘केपीएस कन्सर्ट’ हुँदै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपाली तथा भूटानी समुदायका बाल–युवा प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यसहित ‘किड्स पर्फर्मेन्स स्टेज (केपीएस)’ कन्सर्ट पेन्सिल्भेनियाको ह्यारिसबर्गमा पनि आयोजना हुने भएको छ।
भूटानी अमेरिकन म्युजिक एसोसिएसन (बामा) र सोलोजेनिथ टेक्नोलोजिजको सहकार्यमा आगामी शनिबार, अप्रिल ११, २०२६ मा कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रम साँझ ५ बजे ह्यारिसबर्गस्थित प्याक्सटन चर्च रोड (2243 Paxton Church Rd) मा हुनेछ।
यसअघि अप्रिल ४ मा पिट्सबर्गमा आयोजना गरिएको पहिलो कार्यक्रम दर्शकको अत्यधिक उपस्थितिसँगै सफल भएपछि ह्यारिसबर्गमा दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ८ देखि १८ वर्ष उमेर समूहका करिब २८ जना बाल–युवा कलाकारहरूले लाइभ म्युजिक प्रस्तुति दिनेछन्। उनीहरूले नेपाली तथा भूटानी सांस्कृतिक संगीतमा आधारित प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
आयोजक मध्येका एक बिस्वाज गुरुङका अनुसार सहभागी कलाकारहरूले तीन महिनासम्म अनुभवी संगीतकर्मीहरूको मार्गदर्शनमा प्रशिक्षण लिएका छन्। यसले उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र सांस्कृतिक पहिचान मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
‘कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई समुदायलाई जोड्ने, संस्कृतिको संरक्षण गर्ने र नयाँ पुस्तालाई अवसर दिने पहलका रूपमा अघि बढाइएको बताइएको छ।’ गुरुङले भने, ‘कार्यक्रममा व्यावसायिक स्तरको साउन्ड, लाइटिङ र भिडियो प्रोडक्सनको व्यवस्था गरिनेछ।’
आयोजकले यस्ता कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली–भूटानी समुदायका युवाहरूलाई सशक्त बनाउने लक्ष्य रहेको बताएका छन्।
कार्यक्रममा २१ वर्ष मुनिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्यका लागि टिकट शुल्क २० डलर तोकिएको छ।
बामा ५०१(सी)(३) अन्तर्गत दर्ता भएको गैर–नाफामूलक संस्था भएको र यसले आगामी दिनमा यस्ता कार्यक्रमहरू अन्य शहरहरूमा समेत विस्तार गर्ने योजना बनाएको बताइएको छ।
















