फिफाको जवाफपछि मात्र इरानको विश्वकप यात्रा तय हुने
कार्लाल, पेन्सिलभेनिया / इरान सरकारले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ‘फिफा’बाट खेल स्थल परिवर्तनबारे स्पष्ट जवाफ प्राप्त गरेपछि मात्र राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे अन्तिम निर्णय गर्ने जनाएको छ।
इरानका खेल मन्त्री अहमद डोन्यामालीका अनुसार इरानको फुटबल महासङ्घले आफ्ना समूह चरणका तीन वटा खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा आयोजना गर्न आग्रह गर्दै आएको छ। यो माग अमेरिकाले इजरायलसँग मिलेर गरेको आक्रमणपछि उत्पन्न युद्ध स्थितिका कारण गरिएको हो।
इरानी फुटबल महासङ्घले गत महिना नै फिफासँग खेल स्थल परिवर्तनबारे छलफल भइरहेको जनाएको थियो। साथै, इरानको खेल मन्त्रालयले हालका लागि ‘शत्रुतापूर्ण’ मानिएका देशहरूमा राष्ट्रिय तथा क्लब टोलीहरूलाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ।
यता, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने गत साता इरानले निर्धारित तालिकाअनुसार नै खेल्ने बताएका थिए।
टर्कीको सरकारी समाचार संस्था अनादोलुसँगको अन्तर्वार्तामा मन्त्री डोन्यामालीले भने, “हामीले इरानका खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न फिफासँग गरेको अनुरोध अझै यथावत् छ, तर अहिलेसम्म कुनै जवाफ आएको छैन। यदि यो प्रस्ताव स्वीकृत भयो भने इरानको विश्वकप सहभागिता निश्चित हुनेछ।”
उनले थपे, “खेल मन्त्रालय र फुटबल महासङ्घ मिलेर टोलीलाई विश्वकपका लागि तयार राख्नेछौँ। तर अन्तिम निर्णय भने सरकारले गर्नेछ।”
इरानले समूह ‘जी’ अन्तर्गत आफ्ना सबै खेलहरू अमेरिकामै खेल्ने तालिका रहेको छ । न्युजिल्यान्ड र बेल्जियमविरुद्ध लस एन्जलसमा तथा अन्तिम खेल इजिप्टविरुद्ध सिएटलमा हुनेछ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टोलीलाई अमेरिकामा खेल्न स्वागत भए पनि उनीहरूको “जीवन र सुरक्षाको दृष्टिले उपयुक्त नहुन सक्छ” भन्ने बताएका थिए। पछि उनले सम्भावित जोखिम अमेरिका तर्फबाट नहुने स्पष्ट पारेका थिए।
मन्त्री डोन्यामालीका अनुसार फिफाको नियमअनुसार खेल आयोजना हुने देशले सुरक्षा सुनिश्चित गर्नुपर्ने हुन्छ। तर हालको परिस्थितिमा यस्तो ग्यारेन्टी दिन सकिनेमा शंका रहेको उनले बताए।
“यी अवस्थाहरूमा अमेरिकामा हुने खेलमा इरानको सहभागिता हुने सम्भावना निकै कम छ। तर यदि आवश्यक सुरक्षा सुनिश्चित गरियो भने सरकारले अन्तिम निर्णय गर्नेछ,” उनले भने।
विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने तय भएको छ।
















