ह्यारिसबर्गमा एचपीएल क्रिकेट लिग पुनः आयोजना हुँदै, खेलसँगै मानसिक स्वास्थ्य सचेतनामा जोड
ह्यारिसबर्ग, पेन्सिल्भेनिया – ह्यारिसबर्ग प्रिमियर लिग क्रिकेट (एचपीएल) २०२६ यस वर्ष पुनः आयोजना हुने भएको छ। क्रियमाण फाउण्डेशनको आयोजनामा सञ्चालन हुने लिग अप्रिलदेखि अगस्टसम्म चल्नेछ।
फाउण्डेशनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एचपीएलले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ भने नयाँ तथा युवा खेलाडीहरूको विकासमा समेत विशेष ध्यान दिइनेछ।
यस वर्ष लिगमा कुल ९४ जना खेलाडी सहभागी हुनेछन्, जसलाई चार टोलीमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा सस्केहाना टाइटन्स, लिबर्टी वारियर्स, ह्यारिसबर्ग थन्डरहक्स र क्यापिटल स्ट्राइकर्स सहभागी रहनेछन्।
१५ ओभरको हार्ड टेनिस बल क्रिकेटमा आधारित यस लिगले खेलाडीहरूको कौशल, रणनीति तथा प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। एचपीएललाई यस वर्ष पनि गोल्डेन होम केयरले प्रायोजन गरेको छ भने ह्यारिसबर्ग क्रिकेट एलायन्ससँगको सहकार्यमा सञ्चालन हुनेछ।
एचपीएललाई यस वर्ष पनि गोल्डेन होम केयरले प्रायोजन गरेको छ। लिग ह्यारिसबर्ग क्रिकेट एलायन्ससँगको सहकार्यमा सञ्चालन हुनेछ।
क्रियमाण फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष भरत तिम्सिनाले लिगले स्थानीय खेलकुद प्रवर्द्धन, युवा खेलाडीलाई अवसर प्रदान तथा समुदायमा एकता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताए।
“ह्यारिसबर्ग प्रिमियर लिगले स्थानीय खेलकुद प्रवर्द्धन गर्न, युवा क्रिकेट खेलाडीहरूलाई अवसर दिन, र समुदायभित्र एकता ल्याउन केन्द्रित हुनेछ।” तिम्सिनाले भने ।
लिगअन्तर्गतका सम्पूर्ण खेलहरू ह्यारिसबर्गस्थित लिट्ल पार्कको क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। खेल तालिका एचपीएलको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
यसैबीच, लिगअन्तर्गत ड्राफ्ट डे आगामी अप्रिल ५ तारिख आइतबार दिउँसो ४ बजे आयोजना गरिनेछ।
कार्यक्रममा विभिन्न सामुदायिक नेतृत्वकर्ताहरूको उपस्थिति रहनेछ, जसले खेलाडी ड्राफ्ट प्रक्रिया, लिगको उद्देश्यप्रति समर्थन तथा समानताको सन्देश प्रवर्द्धन गर्नेछन्।
ड्राफ्ट डे कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्यासम्बन्धी समस्याबारे विशेष सचेतनामूलक प्रस्तुति पनि राखिएको छ। #PlayForLife पहल अन्तर्गत सार्वजनिक स्वास्थ्य कार्यक्रम निर्देशक लीला चम्लागाईंले उक्त विषयमा वक्तव्य दिने कार्यक्रम रहेको छ।
एचपीएल केवल क्रिकेट प्रतियोगिता मात्र नभई समुदाय-केन्द्रित पहलका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। लिगले क्रिकेटप्रतिको आकर्षणमार्फत समुदायलाई एकताबद्ध गर्ने, सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने, युवा प्रतिभा विकासमा योगदान पुर्याउने तथा विशेषगरी डिप्रेशन र आत्महत्यासम्बन्धी विषयमा सचेतना फैलाउने लक्ष्य लिएको छ।
#PlayForLife अभियानमार्फत ९८८ मानसिक स्वास्थ्य सहायता सेवालाई ९११ जत्तिकै सहज र पहुँचयोग्य बनाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ।
ह्यारिसबर्ग प्रिमियर लिग २०२६—जहाँ खेल, प्रतिभा र समुदाय एकसाथ जोडिन्छन्।
















