पेन्सिल्भेनिया ल्यानक्यास्टरमा गीतकार दिनेश अधिकारीसहित ७ स्रष्टा सम्मानित
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / प्रख्यात नेपाली गीतकार दिनेश अधिकारी सहित सात जना स्रष्टा अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा सम्मानित भएका छन्।
मिलर्सभिल विश्वविद्यालयको स्टुडेन्ट मेमोरियल सेन्टरमा आइतबार अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (इन्ला) को दोस्रो वार्षिक सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।
इन्ला र साहित्य कला संगम ल्यानक्यास्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा दिनेश अधिकारीलाई एक हजार अमेरिकी डलर राशिको ‘इन्ला ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गरिएको थियो।
अधिकारीलाई दुबोको माला लगाएर प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यसैगरी डम्बर खापुङ सुब्बालाई इन्ला गायन डायस्पोरा र अगोम गुरुङलाई इन्ला लोक संगीत सम्मान डायस्पोरा सम्मान प्रदान गरिएको थियो । दुबै सम्मानको पुरस्कार राशी पाँच सय अमेरिकी डलर रहेको थियो ।

यस्तै यशोदा पराजुलीलाई इन्ला गायन सम्मान, साबु गडाल कार्कीलाई इन्ला गीत सम्मान डायस्पोरा, तृप्ति खड्का गुरुङलाई इन्ला संगीत सम्मान र पुरु लम्साललाई इन्ला गीत सम्मान प्रदान गरिएको थियो ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अधिकारीले विदेशमा नेपाली स्रष्टाहरूको कदर हुनु गौरवको विषय भएको बताए। उनले यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य र संगीतको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
साहित्य कला संगमका संस्थापक तथा गीतकार त्रिविक्रम न्यौपाने र राधा प्रिय शर्माले उद्घोषण गरेको कार्यक्रममा इन्लाका महासचिव रण खड्काले स्वागत मन्तव्य दिएका थिए।
यस्तै साहित्य कला संगमका अध्यक्ष दिपेश चापागाँईले संस्थाको स्थापना, उदेश्य र अहिले सम्मका गतिविधिका बारेमा प्रस्टाएका थिए । सोही कार्यक्रममा इल्लाका कोषाध्यक्ष खडानन्द अधिकारीको म्युजिक भिडियो ‘छाडिजाने माया’ र गणेश प्रधानको ‘वनको काफल’ को रिलिज गरिएको थियो ।

कार्यक्रममा नृत्य, गीत, कविता वाचन, वाद्यवादन तथा पुस्तक विमोचनजस्ता विविध सांस्कृतिक प्रस्तुति समेटिएका थिए। विभिन्न समुदायका कलाकार तथा बाल–युवा समूहको सक्रिय सहभागिताले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
कार्यक्रममा दुई लेखकका चार पुस्तक विमोचन गरिएको थियो ।
डा. ज्ञानेन्द्र गदालको कुमुदिनी र भोलिको आश उज्यालो प्रकाश तथा इन्ला अध्यक्ष डा. हरि अधिकारीको छुटेको बाटो र घामपानीको पाठशाला पुस्तकको विमोचन गरिएको थियो ।

















