पेन्सिल्भेनियाको ल्यानक्यास्टरका नेपाली समुदायमा स्वास्थ्य सचेतना: कोलन क्यान्सर र माइग्रेनबारे अन्तरक्रिया
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा नेपाली समुदायबीच स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार विशेष कार्यक्रम आयोजना गरिएको छ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनिया, ल्यानक्यास्टरको आयोजनामा आइतवार ताजमहल रेष्टुरेन्टको मम एक्सटेन्शनमा सम्पन्न कार्यक्रमले कोलन क्यान्सर र माइग्रेन जस्ता समस्याबारे समुदायलाई जानकारी गराएको हो।
मार्च महिनालाई कोलन क्यान्सर सचेतना महिनाका रूपमा मनाइँदै आएको सन्दर्भमा आयोजित कार्यक्रममा विभिन्न विषयका चिकित्सकहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
स्नायु रोग विशेषज्ञ डा. बन्धु पौड्यालले माइग्रेन टाउको दुखाइका कारण, लक्षण र उपचारका उपायबारे प्रकाश पारेका थिए।
त्यसैगरी, डा. सन्देश पराजुलीले कोलन क्यान्सरको परिचय दिँदै यसलाई समयमै पहिचान गर्न गरिने स्क्रिनिङ प्रक्रिया र यसको महत्वबारे जानकारी गराए।
कार्यक्रममा डा. अनीश पौडेलले कोलोनोस्कोपी कहिले र किन गर्नुपर्ने, तथा कोलन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा प्रष्ट पारे।
कार्यक्रममा सहभागीहरूले चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गर्दै माइग्रेन र कोलन क्यान्सरसम्बन्धी आफ्ना जिज्ञासा राखेका थिए। प्रश्नोत्तर सत्रले कार्यक्रमलाई थप प्रभावकारी बनाएको सहभागीहरूको भनाइ थियो।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाकी अध्यक्ष सृजना पौड्यालले कार्यक्रमको सहजीकरण गर्दै यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमले समुदायलाई लाभ पुग्ने विश्वास व्यक्त गरिन्। साथै उनले निकट भविष्यमा महिनावारी रोकिने अवस्था (मेनोपज) सम्बन्धी अर्को कार्यक्रम आयोजना गरिने जानकारी दिइन्।
प्रवासी नेपाली समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको योजना रहेको छ।
















