एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित
काठमाडौं । केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताले देशभर आन्दोलन गरेका छन् । शनिबार काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो ।
भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसै क्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका पवन भट्टराईले जानकारी दिए ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । भट्टराईका अनुसार एक जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।
सुरक्षामा खटिएका प्रहरीहरूले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।















