नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए । १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ ।
यस अघि शुक्रवार नै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति भवन, महाराजगन्जबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’
उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलो पटक हो ।
















